काठमाडौं । ८ महिनाको बीचमा खाने तेलको भाउ झण्डै दोब्बर बढेको छ । साउन–चैतको खाने तेलको मूल्य प्रतिलिटरमै १ सय रुपैयाँले बढेको छ । खासगरी भटमास, सनफ्लावर, तोरीको तेलको भाउ उच्च भएको हो ।
अन्य दैनिक उपभोग्य वस्तुको तुलनामा खाने तेलको मूल्य अस्वाभाविक रूपमा बढेको देखिन्छ । दाल, चामल, पिठोलगायतका खाद्यान्नको मूल्यको तुलनामा तेलको भाउ थेग्नै नसक्ने गरी बढेको पाइएको छ ।
तर, नेपालमा जुन तरिकाले खानेतेलको मूल्य बढिरहेको छ, यसमा स्वदेशी उद्योगी/व्यवसायीको देन कति छ ? अहिले जुन गतिमा तेलको मूल्य बढेको छ, त्यसमा नेपालका व्यवसायीको कुनै पनि योगदान छैन । भारतीय नेसनल कमोडिटिज एन्ड डेरिभेटिभ मार्केट (एनसीडेक्स) अनुसार विश्व बजारमै तोरी, भटमास, र सनफ्लावरको मूल्य दोब्बरभन्दा बढीले बढेको देखिन्छ ।
यी तीनवटै वस्तु नेपालमा आयात हुन्छ । नेपालको उत्पादन नगन्य मात्रामा छ । यहाँको उत्पादनले देशको मागलाई धान्दैन् । असारको तुलनामा चैतमा तोरी, भटमास तथा सनफ्लावरको प्रतिटन मूल्य झण्डै दोब्बरभन्दा बढीले बढेको छ । महँगोमा किनेर ल्याएपछि त्यसको उत्पादन स्वतः बढ्नु स्वाभाविक हो । विश्व बजारमा हुने जुन–जुन व्यापार छ, ती वस्तुको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा पर्छ भने घट्दा पनि त्यसको असर पर्छ ।
एनसीडेक्सका अनुसार साउनमा ७०० डलर प्रतिटनमा पाइने भटमास अहिले १३०० डलर पुगेको छ । त्यो बेला तेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कारखाना मूल्य थियो । अहिले प्रतिलिटर भटमासको तेल २०५ रुपैयाँ पुगेको छ । जुन गतिमा अन्तर्राष्ट्रिय बजारमा भटमासको मूल्य बढेको छ, सोही गतिमा नेपालमा तेलको मूल्य पनि बढेको देखिन्छ ।
भटमास आयात गर्दा १० प्रतिशत भन्सार पनि लाग्छ । साउनमा ७०० डलरमा १० प्रतिशत लाग्थ्यो । त्यसमा ७० डलर भन्सार लाग्थ्यो । अहिले १३०० मा १० प्रतिशत लाग्छ । त्यो भनेको १३० डलर भयो । यसले पनि लागत बढाएको देखिन्छ ।
यसबाट एकातिर सरकारले पनि तेलबाट पाउने राजस्व दोब्बर पाइरहेको छ । साउनमा प्रतिटन ८४० डलर पर्ने सनफ्लावरको मूल्य १६८० डलर पुगेको छ । यो मूल्य घटेको एनसीडेक्टमा देखिन्छ । एक महिना अघिसम्म १८०० डलरसम्म पुगेको थियो । त्यो बेला पनि उद्योगीले माल मगाएर तेल बनाएका थिए ।
साउनमा प्रतिलिटर सनफ्लावर तेलको मूल्य १३५ देखि १४० रुपैयाँ थियो । अहिले २३० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य यहाँ राख्ने हो भने अझै तेलको मूल्य लिटरमै १५ देखि २० रुपैयाँसम्म बढ्न सक्ने देखिन्छ । धेरै व्यापारीले मगाएको सामान अझै आइसकेको छैन । त्यो सामान आइपुग्ने बित्तिकै तेलको मूल्य अझै उकालो लाग्न सक्ने व्यापारीहरू बताउँछन् ।
तोरी अष्ट्रेलिया तथा क्यानडाबाट आयात हुन्छ । साउनमा तोरीको मूल्य प्रतिटन ५२० डलर हाराहारी थियो । अहिले ७८० डलर पुगेको छ । मूल्य डेढी भएको देखिएको छ । असारमा तोरीको तेल प्रतिलिटर १५० रुपैयाँ थियो । अहिले २०५ रुपैयाँ मूल्य पुगेको छ ।
आजको मूल्यमा अन्तर्राष्ट्रिय बजारबाट तेल ल्याएर बेच्ने हो भने अरू १५ देखि २० रुपैयाँ बढ्ने निश्चित छ । नेपालको खाने तेलको मूल्य बढ्ने वा घट्नेमा अन्तर्राष्ट्रिय बजारमा निर्भर छ ।
सनफ्लावर युक्रेन र रसियाबाट, भटमास ब्राजिल तथा अर्जेन्टिनाबाट आइरहेको छ । नेपालमा खाने तेलका उद्योगको संख्या धेरै छन् । मागको तुलनामा ४ गुणा आपूर्ति भइरहेको छ । यस्तो अवस्थामा कुनै व्यापारीले चाहेर पनि तेलको भाउ बढाउने वा कार्टेलिङ गर्न सक्ने अवस्था नरहेको स्वयम् सरकारी अधिकारीहरू बताउँछन् ।
बजारमा दुई तरिकाबाट मूल्य निर्धारण हुन्छ । एउटा कस्ट अफ प्राइस (लागत)का आधारमा मूल्य निर्धारण हुन्छ । अर्को माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुन्छ । लागत बढेको अवस्थामा मूल्य बढ्ने र लागत घटेपछि मूल्य पनि घट्ने हुन्छ । उदाहरणकै रूपमा कुरा गर्दा तेलको मूल्य लागतका आधारमा तय हुन्छ ।
जस्तो अन्डाको मूल्य लागतका आधारमा कहिल्यै पनि मूल्य निर्धारण हुँदैन । अन्डाको मूल्य निर्धारण माग र आपूर्तिकै आधार हुन्छ । माग र आपूर्तिका आधार मूल्य निर्धारण हुँदा अनाधिकृत रूपमा नाफा लिने बढ्न सक्ने देखिन्छ । लागतका आधारमा मूल्य बढ्दा सरकारलाई पनि केही जोखिम हुँदैन । किनभने लागत बढ्ने बित्तिकै मूल्य बढ्ने र घट्ने बित्तिकै बढ्छ ।