काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा राजस्व नीति र करका दरमा व्यापक हेरफेर गर्ने गरी राजस्व परामर्श समितिले गृहकार्य सुरु गरेको छ । देशभरका उद्योगी÷व्यवसायीसँगको छलफलमा अहिलेको कर प्रणालीमा सुधार गर्नुपर्ने सुझाव आएपछि सोहीअनुरूप कार्य थालनी गरेको समितिका अध्यक्ष महेशप्रसाद दहालले जानकारी दिए ।
समितिले त्यसका लागि पहिलो चरणमा संघीय तहका सबै निजी क्षेत्रका महासंघहरू, सरकारका राजस्वसँग सम्बन्धित विभाग र मन्त्रालयहरूसँग छलफल गरिसकेको छ । त्यसपछि आगामी वर्षको राजस्व नीतिलाई लक्षित गरेर सातै प्रदेशका राजधानीहरूमा निजी क्षेत्रको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ ।
त्यसका अतिरिक्त वीरगन्ज र नेपालगन्ज व्यापारिक हब भएको हिसाबले यी ठाउँमा पनि अन्तरक्रिया सम्पन्न भइसकेको दहालले जानकारी दिए । ‘सबै ठाउँ र क्षेत्रका व्यवसायीसँग छलफल गर्दा आगामी आर्थिक वर्षको बजेटमा करका दर तथा राजस्व नीतिमा परिवर्तन गर्नुपर्ने देखिएकाले त्यसमा वर्कआउट भइरहेको छ,’ दहालले भने, ।
समितिले आगामी वर्षको राजस्व नीति, करका दरहरूमा गर्ने परिवर्तन, समग्र राजस्व प्रशासनमा गरिनुपर्ने सुधारको सन्दर्भमा मूल्यअभिवृद्धि कर, आयकर, भन्सार, गैरकर, वित्त व्यवस्थापन लगायतलाई समेटेर सातवटा उपसमिति बनाइएको छ । उपसमितिको संयोजन विभागका महानिर्देशक, मन्त्रालयका सहसचिवले गरेका छन् । उनीहरूले अहिले अध्ययन गरिरहेका छन् । ती अध्ययन समितिले दिएका प्रतिवेदनहरूलाई समितिले सरकारलाई दिने सुझावमा समेट्नेछ ।
दहालका अनुसार अहिले अनलाइनबाट थुप्रै आर्थिक कारोबार भइरहेका छन् । तर, ती क्षेत्रहरू अहिलेसम्म करको दायरामा आउन नसकेको समितिको निश्कर्ष छ । ती क्षेत्रलाई कसरी करको दायरामा भन्ने सन्दर्भमा समेत अध्ययन अघि बढाइएको छ ।
भन्सार राजस्वमा प्रमुख योगदान गर्ने वस्तुहरूको मूल्यांकनको पुनरवलोकन गर्ने कामसमेत अघि बढेको छ । अन्तःशुल्कको संरचना र खास वस्तुहरूमा लाग्दै आएको अन्तःशुल्कको दरको सन्दर्भमा पनि अध्ययन गरिरहेको दहालले जानकारी दिए ।
त्यसैगरी सुर्तीजन्य वस्तुहरूमा सार्क क्षेत्रमा भएको व्यवस्था, खासगरी चुरोट, बिडी, खैनी, गुट्खालगायत वस्तुहरूमा लगाइएको करको स्थितिबारे सूक्ष्म अध्ययन गरेर करको रिभ्यू गर्ने गरी अध्ययन अघि बढाइएको छ । त्यसैगरी तीनै तहको सरकारमा कर र करारोपणमा दोहोरोपना छ । संघ र स्थानीय तहमा धेरै करहरू बाझिएको स्थिति छ । त्यसको न्यूनीकरण र समाधानको सन्दर्भमा अध्ययन भइरहेको छ ।