काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारीहरू र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष मा. जगत सिम्खडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलबीच मंगलबार महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी रहेको उक्त भेटवार्तामा कोभिड महाव्याधीका कारण मुलुकको उद्योग व्यवसायलगायत श्रम बजारमा पर्न गएको समस्या, अप्ठेरो समयमा श्रमिक कामदार कर्मचारीहरूबाट पाएको सहयोगका विषयमा छलफल भयो ।
सोही अवसरमा (जेटियुसीसी)का तर्फबाट रोजगारदाताहरूको संस्था नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गोल्छालाई न्यूनतम पारिश्रमिक कार्यान्वयनको आग्रहसहित ज्ञापनपत्रसमेत बुझाइएको थियो ।
सो अवसरमा जेटियुसीसीका प्रतिनिधिमण्डलको स्वागत गर्दै महासंघका अध्यक्ष गोल्छाले उद्योग व्यवसायमा कोभिडको असर अझै रहेको र पर्यटन, होटललगायत केही उद्योगहरू अझै तङ्ग्रन नसकेको बताए । मुलुकभित्र श्रम सम्बन्धलाई अझ सुमधुर बनाउन महासंघ क्रियाशील रहेको पनि उनले स्पष्ट पारेका थिए ।
अध्यक्ष गोल्छाले लकडाउनका समयमा महासंघले जेटियुसीसीसँग नजिकमा रहेर काम गरेको प्रसंग उल्लेख गर्दै मुलुकभित्र श्रम सम्बन्धलाई थप मजबुद बनाउन महासंघ र जेटियुसीसीबीचको सहकार्यमा जोड दिए ।
अध्यक्ष गोल्छाले अवको एक दशकभित्र मुलुकको अर्थतन्त्र १ सय अर्ब डलरको बनाउने र करिब २३ लाख थप रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ महासंघले भिजन पेपरमा काम गरिरहेको स्पष्ट पार्दै महासंघको यस लक्ष्यलाई पुरा गर्ने दिशामा सम्पूर्ण कामदार कर्मचारीहरूको पनि उत्तिकै सहयोग महासंघले खोजेको बताए ।