काठमाडौं । मजदुरको हक हितमा खर्च गर्ने भनेर उनीहरूबाटै उठाइएको ६५ अर्ब रुपैयाँ भत्ता बाँड्न प्रयोग गरेको पाइएको छ । सरकारले श्रमिकबाट विभिन्न शीर्षकमा उठाएको ठूलो रकम उनीहरूको हक हितमा खर्च गर्नुभन्दा पनि भत्तामा प्रयोग गरेको खुलेको हो ।
सरकारले श्रमिकबाट वर्षौंदेखि सामाजिक सुरक्षा कर, कल्याणकारी कोष, सामाजिक सुरक्षा योजनाका नाममा छुट्टाछुट्टै रकम लिइरहेको छ । सरकारले सामाजिक सुरक्षा करबापत ३५ अर्ब, कल्याणकारी कोषबापत २५ अर्ब ५० करोड र सामाजिक सुरक्षा योजनाबापत ४ अर्ब २६ करोड रुपैयाँ उठाइसकेको छ ।
त्यो सम्पूर्ण रकम श्रमिककै हक हितमा लगाउने बताइए पनि सरकारले सञ्चालन गरिरहेको सामाजिक सुरक्षाअन्तर्गतका वृद्धभत्ता, अपाङ्ग, विधुवा भत्ताजस्ता काममा खर्च भइरहेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
‘श्रमिकको हितमा खर्च गर्ने भनेर उनीहरूबाट उक्त पैसा उठाइएको थियो,’ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष रमेश बडालले भने, ‘तर, उक्त रकम अहिलेसम्म श्रमिकको हितमा खर्च गरिएको छ । कहाँ खर्च गरिएको छ भन्ने समेत थाहा छैन ।’ अर्थका अनुसार उक्त रकम अन्य प्रयोजनमा खर्च भएकाले सामाजिक सुरक्षा कोष मातहतमा पठाउन नसकिएको हो ।
श्रमिकका नाममा सरकारले उठाइरहेको अर्बौं रकम सदुपयोग गर्न नसकेको जिफन्टले बताएको छ । मजदुरबाट उठाइएको रकम ढाँचा बनाएर मजदुरकै हितमा खर्च गर्न सरकारले ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ ।
वर्षौदेखि सरकारले उठाएको सामाजिक सुरक्षा करलाई राजस्वको खातामा भन्दा पनि सामाजिक सुरक्षा कोषअन्तर्गत ल्याएर सदुपयोग गर्नुपर्ने उनको भनाइ छ ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले १ प्रतिशत कर अन्तर्गतको रकम सामाजिक सुरक्षा कोषमा ल्याउन बारम्बार अर्थ मन्त्रालयसँग निवेदन गरिए पनि सुनुवाइ नभएको बताए ।
उनका अनुसार यो कर श्रमिककै हितमा खर्च गर्ने गरी कोषले आफ्नो मातहतमा ल्याउन खोजेको हो । तर, अर्थ मन्त्रालयबाट सुनुवाइ भएको छैन ।
त्यस्तै, सरकारले राष्ट्रिय स्तरको श्रमिक कल्याणकारी कोषमा २५ अर्ब ५० करोड संकलन गरिसकेको छ । सरकारले तामझामका साथ सुुरुआत गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा ४ अर्ब २६ करोड जम्मा भइसकेको छ ।
मासिक रूपमा रोजगारदाताले श्रमिकको आधारभूत तलबको २० प्रतिशत र श्रमिकले ११ प्रतिशत योगदान गर्ने गरी सुुरुआत गरिएको यो योजनाअन्तर्गत संकलित रकम सरकारले अझै प्रभावकारी रूपमा खर्च गर्न सकेको छैन ।