काठमाडौं । बंगलादेशले नेपालबाट ढुङ्गा लैजान इच्छा देखाएको छ । बंगलादेशले अहिले भारत तथा भुटानबाट ठूलो परिमाणमा ढुङ्गा आयात गरिरहेको छ । सरकारले सहजीकरण गरे नेपालबाट ढुङ्गा लैजान तयार रहेको बंगलादेशले जानकारी गराएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा वाणिज्य मन्त्रालयका सचिव दिनेश भट्टराईसँग त्यहाँका उद्योगी/व्यवसायीले नेपाल सरकारले सहजीकरण गरे आफूहरु ढुङ्गा ल्याउन तयार रहेको बताएका थिए ।
भुटान र भारतको भन्दा नेपालको ढुङ्गा कैयौं गुणा राम्रो भएको बंगलादेशी व्यापारीको निश्कर्ष छ । त्यही भएर नेपालबाट उनीहरुले ढुङ्गा लैजान इच्छुक भएका हुन् ।
नेपालमा प्रचुर मात्रामा ढुङ्गा छ । तर, यहाँ ढुङ्गा निकाल्ने बित्तिकै वातावरणवादीको विरोध हुने भएपछि सरकारले बंगलादेशका व्यापारीलाई ढुङ्गा निर्यात गर्ने सन्दर्भमा बचन दिएको छैन ।
नेपालमा प्रचुर मात्रामा ढुङ्गाका खानी छन् । तर, नेपालका हिमाली तथा पहाडी जिल्लामा लाखौं थुम्का छन् । एउटा थुम्कालाई मासेर मात्रै बंगलादेशलाई ढुङ्गा बेच्न सकियो भने ठूलो मात्रामा विदेशी मुद्रा आर्जन सकिने अवस्था बन्छ ।
बंगलादेशले भारत तथा भुटानबाट ढुङ्गा ल्याएर समुन्द्र पुरेर खेती गरिरहेको छ । तर, दुई देशको ढुङ्गाको तुलनामा नेपालको ढुङ्गाको ‘स्ट्रेन्थ’ बलियो रहेको छ । त्यही भएर बंगलादेशले नेपालबाट ढुङ्गा लैजान इच्छा देखाएको बुझिएको छ ।
बंगलादेश गिटी तथा ढुङ्गा दुवै लैजान तयार छ । ‘तर, हामी तयार छैनौं,’ राष्ट्रपतिको भ्रमणमा सहभागी एक अधिकारीले भने, ‘हामीसँग पर्याप्त मात्रामा ढुङ्गा हुँदा पनि बंगलादेश निर्यात गर्न सक्दैनाैं ।’
बंगलादेशका उद्योगी व्यवसायीले वाणिज्य सचिव भट्टराईलाई नेपालबाट बंगलादेश ढुङ्गा ल्याउनका लागि सहजीकरण गरी दिनसमेत आग्रह गरेका थिए ।
अनौपचारिक छलफलका क्रममा उनीहरुले ढुङ्गाको विषयमा चासो लिए पनि नेपाल र बंगलादेशबीच रोहनपुर–सिंगावाद रेलवे रुट नेपाललाई पारवहन प्रयोजनका लागि प्रयोग गर्न दिने सम्झौता भएको छ ।
यसअघि नै नेपाल भारतबीच सम्झौता भइसकेको छ । भारत बंगलादेशबीच पनि सम्झौता भइसकेको छ । तर, नेपाल बंगलादेशबीच सम्झौता हुन बाँकी थियो । त्यो पनि राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा सम्झौता भएको छ ।
अब नेपालले बंगलादेशबाट रेलमार्फत सामान ओसार पसार गर्न सक्नेछ । नेपाल र बंगलादेशबीच स्यानिटरी र साइटो स्यानेटरीसम्बन्धी सम्झदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।