काठमाडौं । ‘म आफै कुनै समय नेपालबाट भारत चामल निर्यात गर्थे । देशको मागलाई पुग्ने गरी खाद्यान्न आपूर्ति गरेर भारतीय बजारमा समेत हाम्रा उत्पादनको हिस्सा ठूलो थियो । तर, अहिले मासिक २ अर्ब रुपैयाँबराबरको चामल आयात गर्ने मुलुकमा नेपाल पर्छ ।
यस्तो अवस्था सुन्दा मेरो त मन दुख्छ, सायद प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि नरमाइलो लाग्न सक्छ,’ नेपाल चेम्बर अफ कमर्सद्वारा सम्मानित भएपछि पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले मन्तव्यका क्रममा ‘अथाह सम्भावना भएका मुलुकमा जन्मेर पनि मागेर खाने अवस्थमा पुग्यौं । आर्थिक विकासमा कसैको पनि ध्यान गएन ।’
नेपालमा हरेक प्रकारको हावापानी पाइन्छ । यहाँ जस्तोसुकै सम्भावना छ । तर, राजनीतिक र कर्मचारीमै इच्छाशक्ति नहुँदा देश र देशवासीहरु धनी मुलुकका नागरिक बन्न नसकेको श्रेष्ठले बताए ।
‘नेपालमा स्रोत र साधनको कुनै कमी छैन । स्रोत परिचालन गर्न भन्दा पनि कहाँबाट भ्रष्टाचार गर्न पाइन्छ भन्नेमा मात्रै सबैजना लागेका छन्,’ प्रधानमन्त्री ओलीसामू श्रेष्ठले भने, ‘बढ्दो भ्रष्टाचार रोक्न सबैभन्दा पहिला देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्छ ।’
सांसदलाई मन्त्री बनाउने प्रथाको अन्त्य नहुँदासम्म देशबाट भ्रष्टाचार, आर्थिक अनियमितताको अन्त्य नहुने उनको भनाइ छ । ‘नेताको चाकडी गरेर टिकट लिने, चुनाव लड्ने, जितेर आएपछि सबैभन्दा पहिला आफूले चुनावमा खर्च गरेको पैसा उठाउने दाउमा लाग्छन्,’ उनले भने, ‘यदि देशमा जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था राख्ने । राष्ट्रपतिले योग्य व्यक्तिलाई मन्त्री बनाउने व्यवस्था नबनाउँदासम्म अहिलेको विकृत्ति अन्त्य हुँदैन ।’
सांसदलाई कानुन बनाउने अधिकार मात्रै दिने । त्यो भएपछि ठूलो धनराशी खर्च गरेर चुनावको टिकट लिनेको संख्या कम हुन्छ । भ्रष्टाचार पनि नहुने श्रेष्ठको भनाइ छ ।
आफू गरिब परिवारमा जन्मिएर पनि अहिले ७ वटा भन्दा बढी उद्योग लगाएको र हजारौलाई रोजागरी दिएको स्मरण गराउँदै श्रेष्ठले ओलीसामू भने नेतृत्वले समृद्ध नागरिक बनाउन नसक्दा विदेशमा समेत गरिब मुलुकका धनी नागरिकको परिचय कमाउँदा हीनताबोध भएको बताए ।