काठमाडौं । चालू आर्थिक वर्ष ०७७/०७८ मा नेपालका आर्थिक वृद्धि ३.९८ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ । केन्द्रीय तथ्याँक विभागले शुक्रबार चालू आर्थिक वर्ष ०७७/०७८ को राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै चालू आर्थिक वर्षमा आर्थिक वृद्धि ४ प्रतिशत हारहारीमा पुग्ने अनुमान सार्वजनिक गरेको हो ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार बढेर ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ पुगेको अनुमान विभागको छ । यसअघि जीडीपीको आकार ३९ खर्ब १४ अर्ब ७० करोड रुपैयाँ थियो । यसबीचमा जीडीपीको आकार ३ खर्ब रुपैयाँ बढेको विभागको प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कोरोना महामारीको असर सामान्य हुने आधारमा यो आर्थिक वृद्धि हुने विभागको प्रक्षेपण रहेको छ ।
कोरोनाको दोस्रो चरणको महामारी फैलिएपछि राजधानीलगायत देशका प्रमुख शहरहरुमा निषेधाज्ञा लागु भएकाले विभागले गरेको प्रक्षेपणभन्दा कम आर्थिक वृद्धि हुने संभावना छ । विभागले गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्र २.१२ प्रतिशतले ऋणात्मक भएको अनुमान सार्वजनिक गरेको छ । अघिल्लो आर्थिक वर्ष ०७६/०७६ मा ६.३९ प्रतिशत रहेको विभागले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षमा अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान केही बढे पनि कृषि र उत्पादनमुलक क्षेत्रको घटेको विभागले जनाएको छ । प्राथमिक क्षेत्र कृषिले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा २६.४ प्रतिशत योगदान दिएको विभागको प्रारम्भीक अनुमान छ । यो वर्ष प्राथमिक क्षेत्रले कुल २.७५ प्रतिशत योगदान दिने अनुमान छ । धान उत्पादनमा भएको वृद्धिले कृषि क्षेत्रको योगदानलाई बढाएको विभागले जानकारी दिएको छ । प्राथमिक क्षेत्रमा कृषि, वन, खानी तथा उत्खनन् क्षेत्रहरु पर्छन् ।
यस्तै द्धितीय क्षेत्रले जीडीपीमा १२.५ प्रतिशत मात्र योगदान दिने अनुमान विभागले गरेको छ । यो क्षेत्रको वृद्धि स्थिर मूल्यमा ४.९३ प्रतिशत हुने अनुमान गरिएको छ । ऊर्जा क्षेत्रको विस्तार र मेलम्ची खानेपानी आयोजना सम्पन्न भएका कारणले यो वृद्धिको अनुमान गरिएको हो । यस क्षेत्रमा उद्योग, विद्युत, ग्यास, पानी, आपूर्ति र निर्माण पर्छन् ।
यसैगरी सेवा क्षेत्रले जीडीपीमा ६१.१ प्रतिशत योगदान दिएको अनुमान गरिएको छ । यो वर्ष सेवा क्षेत्रको विस्तार स्थिर मूल्यमा ४.४३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । यस क्षेत्रमा खुद्रा व्यापार, वित्तीय मध्यस्तता, भोजन, यातायाता तथा सञ्चारलगायत पर्छन् ।