काठमाडौं । अत्यावश्यक बाहेक सम्पूर्ण उद्योगमा ताल्चा लागेका छन् । मजदूूरलाई उद्योगभित्रै राखेर उत्पादन गर्न सकिने भए पनि बजारमा माग शुन्यमा झरेपछि उत्पादन गर्नुको कुनै अर्थ भएन । त्यही भएर अधिकांश उद्योग बन्द छन् ।
खासगरी, दोस्रो चरणको कोरोना उच्च गतिमा फैलिएका औद्योगिक नगरी वीरगन्ज, भैरहवा, विराटनगर, नेपालगन्जलगायतका क्षेत्रका उद्योग पूर्ण रुपमा बन्द छन् । कोरोनाको दोस्रो भेरियन्ट भुसको आगो सल्किएजसरी फैलिएकाले उद्योगीले पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेर उद्योग बन्द गरेका छन् । यद्यपि, आफ्नो उद्योगमा काम गर्ने मजदूरलाई भने अत्यन्तै सुरक्षित रुपले उद्योगभित्र बसालेका छन् ।
पहिलो लकडाउनमा नेपालको अर्थतन्त्र नराम्ररी प्रभावित भएको थियो । त्यही बेला थलिएका पर्यटन, साना तथा मझौला उद्यमीहरु अझै उठन सकेका थिएनन । नेपालको अर्थतन्त्र नै गत आर्थिक वर्षको अन्तिम त्रैमासमा १५ दशमलव ४ प्रतिशतले ऋणात्मक हुन पुग्यो । यही कारण १२ लाख मानिस चरम गरीबीमा धकेलिए । करिब १६ लाख मानिसले रोजगारी गुमाए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार कोभिड–१९ का कारण कुल उद्योगको १० दशमलव ८१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्न हुन पुगे भने ८९ दशमलव १९ प्रतिशत उद्योग आंशिक उत्पादनमा गएका छन् ।
कोभिडबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र त अझै उठ्ने लक्षण देखिएको छैन । बन्दाबन्दी र निषेधाज्ञा हटेपछि अर्थतन्त्र बिस्तारै लय समात्न थालेको देखिएको थियो । फेरि सरकारले निषेधाज्ञा लागू गरेपछि पर्यटन क्षेत्र झन गम्भीर मोडमा पुग्ने आंकलन गरिएको छ ।
नेपालको अर्थतन्त्र मन्दीबाट जोगिएको थियो । यस पटकको निषेधाज्ञाले अर्थतन्त्र रिसेसनमै जाने अवस्था आउन सक्छ । गरिबी, बेरोजगारीदरले पनि नयाँ रेकर्ड राख्न सक्छ । स्वरोजगारमुलक व्यवसाय गरिरहेकाहरु फेरि पलायन हुन सक्छन् । यसै पनि गत वर्ष गरिएको लकडाउनले स्टार्टअपहरु पलायन भएका थिए । ती अहिलेसम्म पुन व्यवसायमा फर्किन सकेन ।
कोभिडकै कारण मुलुकको अर्थतन्त्रमा पहिलोपटक मन्दीमा गएको केन्द्रीय तथ्यांक विभागको तथ्यांकले पनि देखाउँछ । गतवर्ष आवको चौथो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर १५ दशमलव ४ प्रतिशत ऋणात्मक थियो । चालू आव २०७७÷७८ को पहिलो त्रैमासमा समेत कुल गार्हस्थ्य उत्पादन वृद्धिदर ४ दशमलव ६ प्रतिशतले ऋणात्मक भएको देखिन्छ ।
गत आवको चौथो त्रैमासमा अर्थतन्त्र व्यापक रुपमा संकुचन हुँदा गत आवको कुल गार्हस्थ्य उत्पादन १ दशमलव ८८ प्रतिशतले संकुचित भएको तथ्यांक विभागको अध्ययनले देखाउँछ ।
कोभिड–१९ महामारीले पर्यटन क्षेत्र तथा औद्योगिक उत्पादन र उपभोग कमजोर बनाउँदा आर्थिक वृद्धिदर ऋणात्मक देखिएको तथ्यांक विभागले प्रतिवेदनले देखाएसँगै यी क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर पुनरुत्थान गर्नुपर्ने दबाबमा सरकार रहेको छ ।
यस्तो बेलामा सरकारले फेरि निषेधाज्ञा लागू गरेको छ । सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ । माग र उत्पादन शुन्यमा झरेको छ । यसले नेपालको अर्थतन्त्र फेरि उठ्नै नसक्ने अवस्थामा पुग्ने सरोकारवालाहरुको आंकलन छ ।