काठमाडौं । सरकारकै सेटिङमा आफू निकट व्यवसायीलाई ल्याउन अनुमति केराउ, सुपारी, छोकडा र मरीच कोलकात्ता आइपुगेको छ । चौतर्फी विरोधपछि सरकारले कोटा रद्ध गरेको सूचना प्रकाशित गरे पनि अनुमति प्रदान गरिसकेका व्यापारीले कोलकात्तासम्म सुपारी, केराउ, छोकडा र मरीच आइपुगेको स्रोतले जानकारी गराएको छ ।
केही व्यापारीलाई पोस्न सरकारले सेटिङ मिलाएर आयात अनुमति दिएको थियो । तर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोटा प्रणाली खारेज गरेको थियो ।
आफू निकट व्यवसायीलाई आयात अनुमति दिएपछि मात्रै सरकारले नयाँलाई कोटा दिनबाट रोकेको थियो । अहिले आफूनिकट व्यवसायी मगाएका सामग्री कोलकात्ता बन्दरगाहमा आइपुगेको पूर्वका एक व्यापारीले बताए ।
सरकारले कोटा प्रणाली रद्ध गरे पछि आयात अनुमति पाइसकेको पनि खारेज हुन्छ भन्ने थियो । तर, होइन रहेछ । आयात अनुमति पाएकाहरुले मगाएको सामान कोलकात्तामा आइपुगेको ती व्यापारीले जानकारी दिए ।
ती व्यापारीका अनुसार केही व्यापारीलाई केराउ, सुपारी, छोकडा र मरीच ल्याउन दिनका लागि मात्रै कोटाको नाटक गरिएको र उनीहरुलाई आयात अनुमति दिएपछि रद्ध गरिएको देखियो ।
उनीहरुले मगाएको सामान अहिलेसम्म वीरगन्ज भन्सार कार्यालय भने आइपुगेको छैन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीका अनुसार केराउ, सुपारी, छोकडा र मरीच भन्सार आइपुगे पछि मात्रै निर्णय हुने बताए । ‘ठूलो लगानी गरेर ल्याइसकेका छन्, उनीहरुको सामान अलपत्र पार्नु पनि त भएन्,’ ती अधिकारीले भने, ‘नयाँका लागि अनुमति नदिने हो । दिइसकेकाले मगाइसके होला । त्यसलाई सरकारले गम्भीर रुपमा हेर्छ ।’