काठमाडौं । कोराना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका सन्दर्भमा जिल्ला प्रशासन कार्यालय धनुषाले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार बिहान ६ बजेदेखि राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वैशाख ३१ गतेसम्मका लागि जारी निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाइएको छ ।
कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको निर्णयअनुसार वैशाख २२ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको हो ।
सोमबार कोभिड–१९ सङ्कट व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको संयोजकत्वमा बसेको बैठकले औषधि उपचारबाहेक अन्य कार्यका लागि घरबाट बाहिर जान निषेध गरेको छ । स्वास्थ्य सेवा, दुग्ध, पेट्रोलियमसम्बन्धी व्यापार व्यवसायबाहेकका अन्य व्यवसाय सञ्चालन गर्नमा रोक लगाइएको छ । तरकारी, खाद्य, फलफूलका व्यवसाय हरेक आइतबार, मङ्गलबार र बिहीबार मात्रै सञ्चालन गर्न पाइने निर्देशन जारी गरिएको छ ।
मालबाहक ढुवानीका साधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ । सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासङ्घको सिफारिशमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको पासका आधारमा आवतजावत गर्न सकिनेछ । अत्यावश्यक अवस्थामा नेपाल प्रवेश गर्न चाहने व्यक्तिले नेपाल सरकारद्वारा तोकिएको गड्डाचौकी र गौरीफन्टा नाकाबाट निर्धारित मापदण्ड पूरा गरी आवागमन गर्न सकिने व्यवस्था गरिएको छ ।
नवलपुर– नवलपरासी (बर्दघाट–सूस्तापूर्व)मा आज मध्यरातबाट निषेधाज्ञा जारी गरिने भएको छ । जिल्लामा ३ सयभन्दा बढी सङ्क्रमित पुगेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा लागू गर्ने भएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले नवलपुरमा वैशाख २१ गते राति १२ बजेदेखि जेठ ४ गते राति १२ बजेसम्म १५ दिन निषेधाज्ञा जारी गर्न सिफारिश गरेको हो ।
सोमबार मात्रै जिल्लामा ७७ नयाँ सङ्क्रमित फेला परेका छन् । योसहित सङ्क्रमितको सङ्ख्या ३ सय ४६ पुगेको छ ।
दोस्रो लहरमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
सिमकोट– हुम्ला जिल्लामा कोरोना सङ्क्रमणको दर बढ्न थालेपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले आज राति १२ बजेदेखि २८ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार आदेश जारी गर्दै प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले आदेशको पालना गर्न जिल्लाभरका सबैमा आग्रह गरे ।
निषेधाज्ञाको समयमा अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्लाका स्थानीय तह, राजनीतिक दल र अन्य सरोकारवाला निकायको प्रतिनिधित्वमा बसेको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव जलाउन हरेक गाउँपालिकामा सद्गदस्थलको छनोट गर्न सम्बन्धित गाउँपालिकालाई दुई दिनको समय दिने निर्णय गरेको छ ।
आजबाट हवाई यातायात सेवासमेत बन्द हुने भएको छ भने जिल्लाको दक्षिणी क्षेत्रमा रहेका मुख्य नाका कवाडी, बालुकुना र चङ्खेली नाकासमेत शिल गरिएको छ । एक हप्ताको निषेधाज्ञा अवधिमा एक पालिकाबाट अर्को पालिकामा आवत-जावतसमेत बन्द गरिएको छ ।