काठमाडौं । जलविद्युतमा लगानी गर्न सरकारले स्थापना गरेको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले बैङ्कमा राखेको मुद्दती निक्षेपको ब्याजबाट नाफा बढाएको छ ।
गत आर्थिक वर्षमा एचआईडीसीएलले बैङ्कमा राखेको निक्षेपबाट १ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यसबीचमा कम्पनीले १ करोड ७ लाख ७३ हजार रुपैयाँ लगानीबाट लाभांश प्राप्त गरेको आइतबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
गत आर्थिक वर्षमा एचआईडीसीएलले १ अर्ब १२ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । यो नाफा सबै बैङ्कको ब्याजबाट भएको हो । यस्तै गत वर्ष सरकारले पुँजी वृद्धिका लागि ५ अर्ब रुपैयाँ लगानी गरेको छ । यो रकम जलविद्युत्मा लगानी नगरी बैङ्कमा मुद्धति निक्षेपमा राखेर ब्याज आम्दानी गरेर नाफा बढाएको हो ।
अघिल्लो आर्थिक वर्षमा एचआईडीसीएलले ८० करोड ८१ लाख रुपैयाँ खुदनाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा ३२ करोड रुपैयाँ बढाएको छ ।
आर्थिक वर्षमा गरेको नाफाबाट एचआईडीसीएलले सेयरधनीलाई १० प्रतिशत लाभांश दिएको थियो । गत वर्ष एचआईडीसीएलले जलविद्युत् आयोजनामा २ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ मात्र लगानी गरेको छ ।
ऋण समझौता गरिएका जलविद्युत् आयोजनाको लक्ष्यअनुसार भौतिक प्रगति नहुँदा लगानी प्रवाह बढ्न नसकेको एचआईडीसीएलको भनाइ छ ।
जलविद्युत्मा लगानी गर्न स्थापना भएको एचआईडीसीएलले बैङ्कमा मुद्धति निक्षेप राखेर ब्याजबाट नाफा देखाएपछि संस्थापक लगानीकर्ता कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थाले थप ३ अर्ब ३० करोड रुपैयाँ लगानी गरेका छैनन् ।
संस्थापकले हकप्रद सेयर नलिएपछि एचआईडीसीएलले सर्वसाधारणलाई थप २ अर्ब रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न पाएको छैन । प्रतिफल आकर्षक नभएको र व्यावसायिक योजनाअनुसार जलविद्युत्मा लगानी नगरी र बैङ्कमा मुद्धति निक्षेपमा पैसा राखेर सोको ब्याजबाट मात्र आम्दानी गर्ने देखिएपछि ३ ओटा संस्थाले लगानी गर्न नमानेका हुन् ।
एचआईडीसीएलको औसत प्रतिफल प्रतिसेयर ६ रुपैयाँ १६ पैसा मात्र भएको उसले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ छ । यस्तै प्रतिसेयर आम्दानी १० रुपैयाँ १९ पैसा मात्र छ ।
एचआईडीसीएलले पूँजी १० अर्बबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउन लागेको छ । ३ ओटा संस्थापक लगानीकर्ताले हकप्रद सेयर किनेपछि हालसम्म पुँजी बढेर २२ अर्ब रुपैयाँ पुग्ने छ ।