काठमाडौं । पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरु थपिएका छन् । उनीहरुको बाहुल्य बढी हुँदै गएको छ । नयाँ लगानीकर्ताहरु मध्ये धेरै बैंकबाट ऋण नलिई सेयर बजारमा प्रवेश गरेका छन् ।
देशमो जस्तोसुकै अवस्थाको सिर्जना भए पनि उनीहरुलाई केही फरक पर्दैन् । त्यही भएर सेयर बजारमा राजनीतिक अस्थिरताको प्रभाव नपर्न सक्ने लगानीकर्ताहरु बताउँछन् ।
अघिल्लो दिन ३२ करोड रुपैयाँ घाटा रहेको ब्यालेन्ससिट सार्वजनिक हुन्छ भोलिपल्ट सोही कम्पनीको सेयर मूल्यमा सर्किट लाग्छ । वर्षौदेखि केही नदिने कम्पनीहरुको मूल्यमा निरन्तर सर्किट लागिरहेको छ । साना लगानीकर्ताले त्यसैमा लगानी गरेर कमाइरहेका छन् । त्यही भएर बजारमा राजनीतिक किचलोको कुनै असर नपर्न सक्ने सेयर विश्लेषक प्रकाश तिवारी बताउँछन् ।
‘केन्द्रीय बैंकले मौद्रिक नीतिको समिक्षामार्फत १२० दिनको गणना विधिलाई १८० दिन पुर्यायो । विगतका वर्षमा यसरी यति ठूलो परिवर्तन गरेको भए बजारमा ठूलै पहिरो जान्थ्यो । तर, यो पटक त्यसको कुनै पनि असर बजारमा परेन’ उनले भने, ‘त्यही भएर बजारका बारेमा केही पनि अनुमान लगाउन सकिन्न ।’
अहिले हाउस वाइफ सेयर बजारको लगानीकर्ता, डाक्टर सेयर बजारको लगानीकर्ता, कृषक सेयर बजारको लगानीकर्ता, विदेशमा काम गर्न गएकाहरु सेयर बजारमा लगानी गर्छन् । त्यही भएर राजनीतिक उथलपुथल हुँदा पनि बजारमा त्यसको कुनै प्रभाव नपर्ने सेयर विश्लेषक बताउँछन् ।
ठूला लगानीकर्ताले पनि विकसित राजनीतिक परिवर्तनले बजारमा त्यति ठूलो असर नपर्ने बताउँछन् । ठूलो अंकले बजार नबढ्ला तर, झर्ने सम्भावना नदेखिने उनीहरुको बुझाइ छ ।
राजनीति बाहेक अन्य सबै माहोल सेयर बजार प्रति अनुकूल छ । बैंकको ब्याजदर स्थिर छ । बैंकले सेयर बजारमा लगानी बढाएका छन् । केन्द्रीय बैंकले बजारलाई प्रभावित गर्ने कुनै पनि निर्णय नलिएकाले बजारलाई कुनै असर नपर्ने ठूला लगानीकर्ताको भनाइ छ ।
अहिले बजारमा प्रवेश गरेका नयाँ लगानीकर्ताहरुले बैंकबाट ऋण लिएर सेयरमा लगानी गरेका छैनन् । उनीहरुलाई केन्द्रीय बैंकले ल्याउने नीतिले खासै फरक नपर्ने भएकाले बजार अझै बुलिसतर्फ अघि बढ्ने देखिन्छ ।