काठमाडौं । केही वर्षसम्म राजनीतिमा सामान्य परिवर्तन हुँदा त्यसको असर सेयर बजारमा परिहाल्थ्यो । राजनीतिक किचलो, बैंकले चाल्ने कदम, केन्द्रीय बैंकले सामान्य नीतिले पनि बजारलाई प्रभावित पार्थ्यो र बजार ओरालो लागिहाल्थ्यो ।
तर, विगत एक वर्षदेखि देशमा जस्तोसुकै राजनीति परिवर्तन आए पनि सेयर बजारमा त्यसको नकारात्मक असर ठूलो रुपमा देखा परेको छैन् । यद्यपि, केपी ओली सरकारले यसअघि पुस ५ गते संसद विघटन गर्दा भने बजारमा ९५ अंक गिरावट आएको थियो । तर, त्यो दिन कारोबार रकममा भने उच्च वृद्धि भएको थियो । पुस ५ गते ९ अर्ब ४ करोड रुपैयाँ बरारबको सेयर किनबेच भएको थियो ।
शुक्रबार प्रधानमन्त्री ओलीले संसद् विघटन गर्दा पनि आइतबार सेयर बजारमा कुनै असर नै देखिएन । बरु बजारमा चमक नै देखा पर्यो । केही लगानीकर्ताले बजार घट्न सक्ने आंकलन गरे पनि त्यसो हुन सकेन ।
राजनीतिक घटनाक्रमलाई पाखा लगाउँदै सेयर बजार अघि बढेको ठूला लगानीकर्ताहरु बताउँछन् । अहिले सेयर बजारमा गाउँ गाउँ, वस्ती वस्ती, विदेशबाट समेत लगानीकर्ताको रुपमा प्रवेश गरेका छन् । उनीहरु जसरी पनि सेयर बजारबाट कमाउने सोचका साथ अघि बढेकाले देशभित्र हुने सामान्य परिवर्तनले खासै असर नगर्ने देखिन्छ ।

संसद विघटन हुने परम्परा नै बसिसकेकाले लगानीकर्ताले त्यसको कुनै प्रवाह नगरी बजारमा केन्द्रित हुँदा उचालिएको छ । सुरुमा बजार घटाउन तीब्र चलखेल भएको थियो । आइतबार बजार खुलेको ६ मिनेटमै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७३८.५२ अंकमा झरेको थियो । त्यसपछि लगानीकर्ता सम्हालिए अघि बढेपछि बजार पुनः आफ्नै गतिमा बढेर ११ः३० मै २७८८.६५ अंकमा चढेको थियो ।
त्यसपछि फेरि बजार घटाउनेहरु सक्रिय हुँदा २७६३.९४ मा बजार आइपुगेको थियो । त्यसपछि भने बजार आफ्नो लय समातेको र निरन्तर बजार बढेको देखिन्छ ।
बजार खुलेको एक घण्टाको बीचमा बजार घटाउने र बढाउनेबीच रस्साकस्सी चलेको थियो । तर, बेच्नेहरुको दबाब कम हुँदै गएको र किन्नेहरुको दबदबा कायम रहेकाले बजार बढेको देखिन्छ ।

राजनीतिक सरगर्मीलाई चिर्दै अघि बढेको सेयर बजार आइतबार ३२.८१ अंकले बढेर नयाँ रेकर्ड कायम गरेको छ भने कारोबार रकम पनि ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको २ करोड ५१ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको छ ।