काठमाडौं । कोरोना कहरका कारण मुलुकको सम्पूर्ण आर्थिक गतिविधि ठप्प भए पनि धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक भने हालसम्मकै उच्च स्थानमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा नयाँ इतिहास कायम भएको छ । अधिकांश लगानीकर्ता निषेधाज्ञाका कारण घरमै रहेको तथा विद्युतीय कारोबारलाई बढावा दिइएका कारण नेप्सेले नयाँ रेकर्ड कायम गरेको हो ।
साताको पहिलो दिन आज नेप्से ३२.८१ अङ्कले वृद्धि भई २ हजार ८२० मा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.२३ ले वृद्धि भई ५०७.२० मा पुगेको छ । यो पनि हालसम्मकै उच्च बिन्दु हो ।
कारोबार रकमसमेत झण्डै १२ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ । कूल २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६६० कित्ता सेयर रु ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ मा खरिद बिक्री भए ।
आइतबारको कारोबारपछि बजार पूँजीकरण पनि नयाँ उचाईमा पुगेको छ । यो मुलुकको कूल ग्राहस्थ उत्पादन नजिक पुगेको हो । नेप्सेका अनुसार ३९ खर्ब १३ अर्ब १५ करोड आठ लाख ७३ हजार ६१ बराबरको बजार पूँजीकरण भएको छ ।
कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंकका सेयरमा सकारात्मक सर्किट लागेको छ । ती कम्पनीको सेयरमा १० प्रतिशतको वृद्धि भएको छ । यस्तै ९.९७ प्रतिशतले वृद्धि भएको महालक्ष्मी विकास बैंकको सेयरमा समेत आज सकारात्मक सर्किट लागेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक ९.९३, युनाइटेड इदीमर्दी हाइड्रोपावर ९.९३, कालिका पावर कम्पनी ९.८६, वेष्ट फाइनान्स कम्पनी ९.८५, गुडविल फाइनान्स ९.८५, सप्तकोशी डेभलपमेन्ट बैंक ९.८४ र बरण हाइड्रोपावरका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाएका छन् ।
यस्तै लगातर सकारात्क सर्किट लाग्दै आएको रुरु जलविद्युत् परियोजना ३.७३, समता घरेलु लघुवित्त ३.६८, गुराँस लघुवित्त २.३७, आरम्भ चौतारी लघुवित्त २.१७ र नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले १.९३ प्रतिशतले गुमाएका छन् ।
कारोेबारका आधारमा नेपाल पुर्नबिमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४१ करोड ८६ लाख ४४ हजार ७४३ रुपैयाँ बराबरको कारोबार भएको छ । रासस