काठमाडौं । निजी तथा सार्वजनिक लगानी (पीपीपी) मोडेलमा निर्माणधिन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाबाट २०७९ असारदेखि बिजुली उत्पादन हुने भएको छ । पर्वद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको तेस्रो त्रैमाशिक वित्तीय विवरणमा विभिन्न कारणले गर्दा आयोजना एक वर्ष पछि धकेलिएको जनाएको छ ।
यसअघि चालु आर्थिक वर्षको असारमा बिजुली उत्पादनको लक्ष्य तय भएको थियो । विभिन्न कारणहरुले गर्दा एक वर्ष ढिलाइ हुन गएको कम्पनीले जानकारी गराएको हो । आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट बिजुली उत्पादन हुनेछ । सो बिजुली बिक्रीबाट रसुवागढी हाइड्रोपावरले ३ अर्ब २५ करोड रुपैयाँ आम्दानी गर्ने छ ।
भूकम्प र त्यसपछिको नाकावन्दी, बाढी र पछिल्लो समयमा आएको कोरोना महामारीको पहिलो र दोस्रो भेरियन्टले आयोजनाको काम प्रभावित भएको प्रकाशित विवरणमा उल्लेख छ । बिजुली उत्पादन नभएपछि रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ४६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्ष पनि कम्पनी ६ करोड ६० लाख रुपैयाँ नोक्सानमा थियो ।
कम्पनीको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ । जगेडा कोष २२ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी ५३ पैसा नोक्सानमा रहेको छ । प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ३२ रुपैयाँ छ ।
आयोजनाको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । कम्पनीले २०७७ सालमा आएको बाढीको कारण बाँधमा क्षती हुँदा निर्माण कार्यमा ढिलाई भएको जनाएको छ । यस्तै, कोरोना संक्रमणको कारण लकडाउन हुँदा पनि निर्माण कार्यमा समस्या भएको कम्पनीले जनाएको छ ।
सिभिल निर्माणको काम अन्तिम चरणमा पुगे पनि इलेक्ट्रोमेकानिकल उपकरण जडानमा भएको ढिलाइले गर्दा आयोजना निर्धारित समयमा सम्पन्न नहुने अवस्थामा पुगेको हो ।
विनासकारी भूकम्पले एक वर्षभन्दा बढी समय आयोजनाको काम रोकिएको थियो । यस्तै गत वर्ष कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउनले आयोजनाको काम प्रभावित हुँदा १ वर्ष ढिलाइ हुन पुग्यो । आउँदो असारदेखि बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्यलाई कोरोनाको दोस्रो भेरियन्टको महामारीले पर धकेलिएको छ ।
सिभिल निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ । सिभिलको बाँकी काम भइरहेको छ । तर, इलेक्ट्रोमेकानिकल उपकरण जडान नहुँदा आयोजना प्रभावित भएको छ ।इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन तथा आपूर्तिको जिम्मा पाएको भारतीय कम्पनी भोइथ इन्डिया लिमिटेडले जडान नगर्दा ढिलाइ हुन पुगेको गुनासो आयोजना पक्षको छ ।
उपकरण जडानको जिम्मा लिएको भोइथका मेकानिकल प्राविधिक कोरोना महामारीका कारण गत २०७६ चैत ८ गतेदेखि आफ्नो देश गएकाहरु नेपाल फर्र्किएका छैनन् । सन २०१४ देखि निर्माण सुरु भएको रसुवागढी आयोजनाको ४ हजार १८५ मिटर सुरुङ २०७६ साल भदौ ४ गतेदेखि तयार भइसकेको छ ।
प्रतिसेकेन्ड ८० घनमिटर पानीको बहाव थेग्ने क्षमताका तीनवटा फ्रान्सिस टर्वाइनसहितका सुरुङलगायतका अन्य संरचना निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक कर्पाेरेसन (सीडब्लूई) ले आफ्ना काम अघि बढाइरहेको छ । तर, भारतीय कम्पनीबाट ढिलाइ भइरहेको छ ।
कर्मचारी सञ्चय कोषको ऋण सहयोगमा आयोजनाको निर्माण सुरु भएको हो । निर्माण अवधिको ब्याजबाहेक सुरुको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ अनुमान गरिएकोमा निर्माणमा ढिलाइ, विदेशी मुद्राको विनिमय दरमा परिवर्तन र प्राकृतिक विपत्तिका कारण आयोजनाको लागत बढ्न सक्ने देखिएको रसुवागढी हाइड्रोपावरले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख छ ।
सञ्चय कोषले ब्याज घटाएर ९.७५ प्रतिशत कायम गरेको छ । प्रत्येक ३ महिनामा ब्याजको रकम साँवामा पुँजीकरण हुने गरेको छ । यस्तै आयोजनाको भूमिगत संरचनाअन्तर्गत मुहानतर्फ बाँध बाँध्ने कार्य पनि प्रायः पूरा भएको छ ।
यसअघि २०७६ फागुन ७ गते आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । महामारीले गर्दा बढाएर आउँदो असारसम्म कार्यतालिका तयार पारिएको थियो । सरकारले पनि रसुवागढी चालू आर्थिक वर्षमा सम्पन्न हुने आयोजनाको सूचीमा राखेको छ ।
रसुवागढी आयोजनामा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । नदीको बहावमा आधारित (आरओआर) आयोजनामा ३८ मेगावाट क्षमताका ३ वटा टर्वाइन जडान हुने छन ।
रसुवागढी आयोजनाले अब प्रभावित स्थानीय बासिन्दालाई १० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न बाँकी छ । आयोजना नेपाल चीन सीमा नजिक रसुवागढीमा पर्छ । आयोजना आर्थिक रूपमा आकर्षक रहेको छ ।