काठमाडौं । नवलपरासीको नवलपुरमा स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक तयारी पूरा हुन नसक्दा स्वास्थ्य बिमा कार्यक्रम सुरु हुनसकेको छैन ।
चैत मसान्तसम्ममा स्वास्थ्य बिमा गरेकाहरुले सेवा लिने अवधि जेठ १ गतेबाट सुरु भएको छ । तर, स्वास्थ्य बिमा बोर्ड प्रदेश कार्यालय गण्डकी प्रदेशले नवलपुरमा स्वास्थ्य बिमा कार्यान्वयनका लागि छनोट भएका स्वास्थ्य संस्थासँग बिमा कार्यान्वयन सम्झौता गर्न ढिलाइ गरेका कारण कार्यक्रम कार्यान्वयन हुनसकेको छैन ।
कार्यक्रम कार्यान्वयनका लागि छनोट भएकामध्ये मध्यविन्दु जिल्ला अस्पताल नवलपुरबाहेकका स्वास्थ्य संस्थासँग केही दिन अगाडि मात्रै सम्झौता भएको स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालय गण्डकी प्रदेश संयोजक जीवनाथ खरेलले बताए । तर, सम्झौता गरेका स्वास्थ्य संस्थामा पनि आवश्यक पूर्वधार तयारी र जनशक्ति व्यवस्थापन हुन नसक्दा कार्यान्वयन हुनसकेको छैन ।
जिल्लामा मध्यविन्दु जिल्ला अस्पताल चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, देउराली अस्पताल हुप्सेकोट, बुलिङटार प्राथमिक स्वास्थ्य केन्द्र, रकुवा डेडगाउँ प्राथमिक स्वास्थ्य केन्द्र, गैंडाकोट नगर अस्पताल र दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका लागि छनोट गरिएको थियो ।
कोभिड सङ्क्रमणका कारणले समेत स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा समस्या भएको मध्यविन्दु जिल्ला अस्पतालका प्रमुख डा वीरबहादुर थापाले बताए। अहिले अस्पतालमा कोभिडका बिरामीको चाप रहेकाले अन्य सेवा प्रदान गर्नसमेत असजह अवस्था रहेको छ । “अहिले सबै जनशक्ति कोभिड नियन्त्रणमा खटिएका छौं, प्रदेशबाट समेत थप तयारी हुँदैछ”, डा थापाले भने, ‘चाँडै व्यवस्थापन होला ।’
स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन सम्झौता गरेका स्वास्थ्य संस्थाबाट तत्काल सेवा प्रवाहका लागि प्रदेश कार्यालयबाट आवश्यक समन्वय गरिरहेको र मध्यविन्दु जिल्ला अस्पतालसँग सम्झौताका लागि नियमित छलफल गरिरहेको खरेलले बताए।
नवलपुरमा गत फागुन १ गतेदेखि दर्ता सहयोगीमार्फत जिल्लाका स्थानीयवासीको स्वास्थ्य बिमा गरिएको थियो । जिल्लामा दर्ता सहयोगीमार्फत चैत मसान्तसम्म स्वास्थ्य बिमा गराएकाहरुको यकिन तथ्याङ्क अझै प्राप्त हुनसकेको छैन । बिमा फारमको अनलाइन इन्ट्रीको काम अन्तिम चरणमा रहेको स्वास्थ्य बिमा कार्यक्रम जिल्ला बोर्ड नवलपुर संयोजक जायश्वर भुसालले बताए।
प्रारम्भिक तथ्याङ्कअनुसार जिल्लामा करिब ३० हजार जनाले पहिलो चरणमा स्वास्थ्य बिमा गराएका छन् । कार्यालय व्यवस्थापन, आवश्यक समन्वयलगायतका कारण कार्यान्वयनमा केही ढिलाइ भएको उनले बताए।
बिमा गरेका ३० हजार घरपरिवारले जेठ महिनाबाट सेवा प्राप्त गर्नुपर्ने भए पनि उनीहरु सेवा लिनबाट बञ्चित भएका छन् । पहिलोपटक कार्यक्रम सुरु गर्न लागिएकाले सुरुमा केही व्यवस्थापनमा समस्या हुँदा ढिलो भएको भुसालले बताए।
“कोभिडको पनि समस्या छ, सरुमा केही व्यवस्थापकीय पक्षहरु पनि मिलाउनुपर्ने छ, यसले केही ढिला भएको छ”, भुसालले भने, ‘चाँडै सबैसँग सम्झौता गरी आवश्यक व्यस्थापन गरी सेवा प्रदान हुनेछ ।’ रासस