काठमाडौं । राष्ट्र बैंकको परिपत्रपछि बजार घट्ने अनुमानलाई गलत साबित गर्दै सेयर कारोबारमा अर्को नयाँ रेकर्ड बनेको छ । यस अघि १३ अर्ब ११ करोड कारोबारको रेकर्डलाई तोड्दै साताको अन्तिम दिन नयाँ रेकर्ड बनाएर बजार बन्द भएको हो ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई माइक्रो फाइनान्सको सेयर किन्न रोक लगाएपछि बजार घट्ने आँकलन गरिएको थियो । तर, बजारमा सेयर खरिद गर्नेको चाप बढेकाले बजार १.३२ अंकले घटेर २८१५.२८ अंकमा रोकिएको छ । यसले आइतबार बजार बढ्ने संकेत पनि गरेको छ । कारोबार रकम १४ अर्ब ७७ करोड रुपैयाँ बराबरको ४ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ ।
ठूला लगानीकर्ताले बजारमा केन्द्रीय बैंकको परिपत्रले खासै ठूलो असर नपर्ने बताइरहेका थिए । बजार खुलेको केही मिनेटमै बजार झरे पनि पछि सम्हालिएको थियो । गत मंगलबार २७८४ अंकमा बन्द भएको बजार ११ बजेर ३ मिनेटमै २७६२ अंकमा झरेको थियो ।
त्यो बेला केही लगानीकर्ताले नाफा बुक गरेको देखिन्छ । खासगरी, माइक्रो फाइनान्सका लगानीकर्ताले नोक्सान खाएरै भए पनि सेयर बेचेको देखिन्छ । त्यसको प्रभावले सुरुमा सबैभन्दा बढी माइक्रो फाइनान्स नै घटेको थियो ।
विस्तारै माइक्रो फाइनान्सको सेयर खरिद गर्नेको चाप बढेपछि घट्ने दर कम भयो र बजार लयमा फर्किएर ११ बजेर १४ मिनेटमै बजार २८०० माथि उक्लिएको थियो । त्यसपछि फेरि बजारमा सेयर बिक्री गर्नेको चाप बढेकाले केही घटेको थियो ।
बजारमा दिनभर नाफा बुक गर्ने र सेयर खरिद गर्नेबीच रस्साकस्सी भएको देखिन्छ । तर, १२ बजे पछि बजारले लय समातेको र विस्तारै बढ्न थालेको देखिन्छ । १ बजेर ३० मिनेट पछि बजार ह्वात्तै माथि उक्लिएको देखिन्छ । २८०५ को अन रेकडेर्ड उच्च रेकर्डलाई १ बजेर ३० मिनेटमै तोड्दै २९३५ अंकसम्म पुगेको देखिन्छ । त्यसपछि विस्तारै बजार पुन घट्न थालेको देखिएको हो ।
ठूला लगानीकर्ताले बिहीबार बजार एक अंक घट्बढ भएर रोकिएको अवस्थामा आइतबारबाट बजार बढ्ने आँकलन गरेका छन् । बिहीबार सेयर बजार नराम्री खस्ने आँकलन गरिएको थियो । तर, त्यो भएन । यसले बजार विस्तारै परिपक्क बन्दै गएको ठूला लगानीकर्ताको बुझाइ छ ।
बिहीबार बैंक, बिमा, लघुवित्तको सेयर ओरालो लाग्यो भने जलविद्युतको सेयरमा उछाल आएको छ । अधिकांश जलविद्युत कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रो, जोशी, दिब्यश्वरी हाइड्रोको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।
खासगरी, साना लगानीकर्ताले सस्तो सेयरमा आखा लगाएकाले ती कम्पनीको सेयर मूल्यमा उछाल आएको हो ।