काठमाडाैं । यो साता जलविद्युतका लगानीकर्ताले सार्वधिक कमाएका छन् । यस साता १३ उपसूचकमध्ये जलविद्युत् उपसमूहको परिसूचक सबैभन्दा बढी ८.८७ प्रतिशत बढेकाले लगानीकर्ताले सबैभन्दा बढी कमाएका हुन् ।
त्यसैगरी यो साता सबैभन्दा बढी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् खासगरी केन्द्रीय बैंकले लघुवित्तको सेयर किन्न बैंकलाई रोक लगाएपछि त्यसको असर परेको हो । हुन त बैंकसँग लघुवित्तको सेयर धेरै थिएन । तैपनि मनोवैज्ञानिक असर परेकाले लघुवित्त ओरालो लाग्यो भने जलविद्युत उपसमूह उचालिएको हो ।
गत साता २७७०.७८ विन्दूमा बन्द भएको जलविद्युत् उपसमूहको परिसूचक यो साता २४५.६९ अंक बढेर ३०१६.४७ विन्दूमा पुगेको हो ।
यस साता ५ उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये सबैभन्दा बढी लघुवित्त उपसमूहको परिसूचक घटेको छ। यस साता सो उपसमूहको परिसूचक सर्वाधिक ३.८१ प्रतिशत घटेको छ। गत साता ५६५०.५१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक यस साता २१५.४६ अंक घटेर ५४३५.०५ विन्दुमा झरेको छ।
त्यसैगरी, यो साता कारोबार रकम पनि केही घटेको छ । हुन त यस सातामा ४ दिन मात्रै कारोबार भएकाले कारोबार रकम १ अर्ब ८३ करोड रुपैयाँले घटेको हो । यदि पाँच दिन नै कारोबार खुलेको भए कारोबार रकमले रेकर्ड राख्ने सम्भावना थियो ।
गत साता २७८७.१८ विन्दुमा बन्द भएको नेप्से, यस साता २८.२१ अंक बढेर २८१५.३९ विन्दुमा पुगेको हो। यस साता सेन्सेटिभ इण्डेक्स ४.७३ अंक बढेर ५०३.७० विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३१ अंक बढेको छ।
यस साता बजारमा कुल ५ लाख २२ हजार २६३ पटकको कारोबारमा ५० अर्ब ७७ करोड रुपैयाँ बराबरको ११ करोड ७५ लाख कित्ता सेयर खरिदबिक्री भएको छ। यद्यपि, औषत कारोबार रकम भने गत साताभन्दा बढी नै रहेको छ।
गत साता ३८ खर्ब ६७ अर्ब रुपैयाँ रहेको कुल बजार पूँजीकरण यस साता ३९ अर्ब बढेर ३९ खर्ब ६ अर्ब पुगेको छ।