काठमाडौं । उच्च विन्दुबाट करिब २४० अंक घटेर उकालो लाग्ने क्रममा देखिएको सेयरबजारले सम्हालिने संकेत गरेको छ । बजार घट्नेक्रममा बुधबार २७८७ अंकसम्म पुगेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३७ अंकले उक्लिँदै २८२३ मा रोकिएको थियो ।
यद्यपि, बुधबारको सूचक मंगलबारको तुलनामा ४ अंकले झरेको हो । मंगलबार सेयर सूचक ४७ अंकले घटेको थियो । तर, साताको अन्तिम दिन बिहीबार नेप्से बढ्ने र घट्ने तीब्रताबीच १९.१२ अंकले बढेर २८४३ विन्दुमा पुगेको छ ।
बजार बढ्ने संकेतका रुपमा कारोबार रकम र कारोबार कित्तालाई पनि आधारका रुपमा हेरिन्छ । बिहीबार बुधबारको तुलनामा कारोबार रकम र कित्ता दुवै बढेको छ । यसदिन २ करोड २८ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७८ लाख रुपैयाँ कारोबार भएको छ ।
यो पनि हेर्नुहोस्
लकडाउन खुलेसँगै सेयर बजार ओरालो, कर, ब्याज र क्लोजिङको प्रेसर
बिहीबार कारोबारको सुरुमै बढेर कारोबार भएकोमा थोरै घट्ने र धेरै बढ्ने प्रक्रिया अपनाउँदै मध्यान्तरमा २८६६ विन्दुसम्म पुगेको थियो । तर, त्यसपछि भने बिक्री चापका कारण बजार केही तल झर्यो । यद्यपि, कारोबार रोकिँदा बढेर बन्द भएको छ ।
जेठ ३१ मा हालसम्मकै उच्च ३०२५ विन्दुमा पुगेको बजार त्यसयता निरन्तर करेक्सनको बाटोमा थियो । थोरै बढ्ने र धेरै घट्ने हुँदै २७८७ सम्म घटेको बजारले यो साता टेको पाएको मान्न सकिन्छ ।
यो पनि हेर्नुहोस्
मौद्रिक नीतिलाई देखाएर सेयर बजार घटाउने सक्रिय, अन्तिममा हरियो भएर बन्द
विस्तारै निषेधाज्ञा खुकुलो भएको, ब्याजदर वृद्धिको हौवा, तरलता अभाव तथा पुँजी वृद्धिको अफवाह, धितोपत्र बोर्डको कच्चा निर्णयजस्ता कारणले बजारमा बिक्री दबाब सिर्जना गरेको थियो । यसले लगानीकर्ता मनोवैज्ञानिक त्रासमा थिए । उता ठूला लगानीकर्ता र ब्रोकरहरुको बजार घट्छ भन्ने हौवा र बजार घटेपछि मात्रै प्रवेश गर्ने भन्ने मान्यताका अफवाह फैल्याउँदा साधारण लगानीकर्ताले ठूलो क्षति ब्यहोर्नुपर्यो । यो वर्ग सूचनाको पहुँच नभएका तर ब्रोकर कार्यालयबाट प्रसारित विभिन्न अफवाहका पछि लागेर कारोबार गर्ने मध्यमा पर्छन् ।
तर, समग्र बजारको अध्ययन, नजिकिँदो आर्थिक वर्षको अन्त्य भएर नयाँ वर्षको सुरुवात सँगै लाभांशको अपेक्षा, कोभिड-१९ को संक्रमण घटेर बजारमा चहलपहल बढेसँगै आर्थिक गतिविधि चलायमान हुने र त्यसको प्रत्यक्ष/अप्रत्यक्ष असर सूचीकृत कम्पनीमा पनि पर्ने देखिएपछि सेयर बजारमा सकारात्मक धारणा पैदा हुने सम्भावना बढाएको छ ।
यो पनि हेर्नुहोस्
अझै उचाइको पूर्वसन्ध्यामा सेयर बजार, करेक्सनको संभावना कायमै
यसले अबको केही दिनमा पुरानो उच्च अंक छाडेर बजार अघि जाने सम्भावना छ । तर, यसबीचमा लगानीकर्ताले सेयर खदिर गर्दा सतर्कता भने अपनाउनुपर्छ । हल्लाको भरमा नभई वास्तविकता र आफ्नो क्षमताको आँकलन गरी बजार प्रवेश गरेमा र बिक्री निर्णयलाई समयानुकूल बनाउन सके पछुताउनु पर्दैन् । सेयर बजारका सबैभन्दा ठूलो सत्रु भनेको लोभ, त्रास र इर्श्या हो । यी तीनबाट मुक्त हुने सके पछाडि फर्किएर हेर्नु पर्दैन् ।
बजार चलायमान भएको संकेतमा रुपमा लामो समयदेखि बन्द रहेको होटल समूहमा पनि उछाल आएको छ । ४ वटा होटल सूचीकृत भएका मध्ये ओरियन्टल सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । त्यस्तै सोल्टी होटलको ७.३६ र तारागाउँको ६.११ प्रतिशतले सेयर बढेको छ । उच्च मूल्य वृद्धि भएका १० कम्पनी मध्ये ३ वटा होटल समूहमै छन् । लामो समयदेखि याक एन्ड यतिको सेयर कारोबार भएको छैन । निर्जीवन बिमा उपसमूह बाहेक सबै उपसमूहको सेयर मूल्य बढेको छ ।