काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै सेयर बजार ओरालोतिर अघि बढेको छ । सरकारले लकडाउन नखुलाउँदासम्म सेयर बजारमा प्यानिक सेल कम हुँदै गएको र बजार स्थिरतर्फ अघि बढेको थियो । तर, मंगलबारबाट लकडाउनलाई हटाएसँगै त्यसको नकारात्मक असर बजारमा परेको छ ।
लकडाउन खुलेसँगै बैंकलाई बुझाउनुपर्ने सावाँ ब्याज असार अन्त्यसम्म बुझाइसक्नुपर्ने छ । त्यसैगरी, सरकारलाई बुझाउनुपर्ने कर पनि बुझाइसक्नुपर्ने र क्लोजिङको पनि दबाब परेकाले बजारले ओरालो यात्रा तय गरेको देखिन्छ ।
अदालतले लकडाउन खुलेको एक महिना पछि मात्रै कर उठाउन सरकारका नाममा आदेश जारी गरेको थियो । त्यो भए पछि लगानीकर्ताहरुले तत्काल कर तिर्न नपर्ने र सो रकम सेयर बजारमा खन्याएका थिए । तर, लकडाउन खुलेपछि अब सरकारलाई तिर्नुपर्ने कर असार मसान्तसम्म तिरिसक्नुपर्छ ।
यस्तो अवस्थामा लगानीकर्ताले घाटा खाएरै भए पनि सेयर बेच्न लागेको देखिन्छ । खासगरी, कर, बैंकलाई बुझाउनुपर्ने ब्याज र क्लोजिङ टार्न लगानीकर्ताहरुले धमाधम घाटामै सेयर बेच्न लागेका हुन् ।
सेयर बजारमा पनि यसको सीधा प्रभाव परेको अनुमान गरिएको छ । कर तिर्नका लागि लगानीकर्ताले केही रकम जोहो गर्न लाग्दा सेयर बजार प्रभावित भएको विश्लेषकहरुले बताएका छन् ।
यो पनि हेर्नुहोस्
सेयर बजार २७०० अंकलाई छोएर फर्किने संकेत
अन्य उद्योगधन्दा ठप्पप्रायः भएकाले सेयर बजारबाटै पैसा जोहो गर्नुपर्ने धेरैलाई बाध्यता हुन सक्छ । त्यही भएर बजार केही प्रभावित भएको हो । कर तिर्ने रकम जोहो गरेपछि फेरि १–२ दिनमै बजार लयमा फर्किने विश्लेषकहरुको भनाई रहेको छ ।
३ हजार विन्दु पार गरेपछि नेप्से करेक्सनतर्फ लागेको थियो । यसबीचमा फेरि केही बढ्ने र घट्ने क्रम जारी रहेको छ । असार महिनाको प्रेसर, बजार केही घट्न थालेपछि नयाँ तथा साना लगानीकर्ताको मनोबल कमजोर हुनु लगायतले बजारलाई प्रभावित बनाएको हो ।
तर, करेक्सनले नयाँ अवसर सिर्जना गर्छ भन्नेतर्फ पनि आम लगानीकर्ताले ख्याल गर्न जरुरी छ । बजार सधैं एउटै लयमा हुँदैन । तलमाथि गरिरहन्छ । केही समय बजार खासै घटबढ नहुने अवस्थाबाट पनि गुज्रिन सक्छ । यी सबै प्रवृत्तिलाई सेयर बजारका लगानीकर्ताले सामान्यरुपमा लिन सक्नुपर्छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.१३ अंकले घटेर २८२३.८७ बिन्दूमा आइपुगेको छ । बुधबार २७०० अंकलाई छोएर बजार पुन सम्हालिएको थियो । दिनभर बजार घटाउने र बढाउनेबीच रस्साकस्सी चलेको देखिन्छ । खासगरी क्लोजिङ, बैंकलाई बुझाउनुपर्ने ब्याज र सरकारलाई बुझाउनुपर्ने करको दबाबमा बजार रहेको देखिन्छ ।
तर, मंगलबारको तुलनामा बुधबार बजार केही थामिएको छ । मंगलबार ४७ अंकले घटेको बजार बुधबार ४ अंक मात्रै खसेको हो । बुधबार ५ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ ।
बुधबार सबैभन्दा बढी जीवन बिमाको सेयर मूल्य घटेको छ । ११२ अंक घटेको छ भने होटल एन्ड टुरिजमको ४९ अंकले घटेको छ । माइक्रोफाइन्सको सेयर मूल्य ४७ अंकले घटेको छ । त्यसैगरी विकास बैंकको सेयर मूल्यमा भने उछाल देखिएको छ । विकास बैंकको १३६ अंकले बढेको छ । वित्त कम्पनीको मूल्य पनि हरियाली छाएको छ ।