काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको पहिलो दिन आइतबार बजार घटेर केही सच्चिने बाटो खोजेको छ । निरन्तर बुलिस ट्रेन्डमा रहेको बजारमा गत साता नियामक नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको वस्तुस्थिति सार्वजनिक गर्दै कर्नरिङ, चलखेल हुनसक्ने आशंका गरेर लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरेको थियो ।
त्यसपछि निरन्तर घट्ने (करेक्सन) को बाटोमा गएको नेप्से सूचकमा आइतबार ठूलो गिरावट आएको हो । यसअघि गत साता मंगलबार, बुधबार र बिहीबार गरेर ५६ अंकको गिरावट आएको थियो । त्यसअघि सोमबार हालसम्मकै उच्च ३०२५ अंकमा पुगेको नेप्से पछिल्लो ४ दिनमा १२० अंकले घटेर २९०५ मा आएको छ । आइतबार बजार ६३.२८ अंकले घटेको छ ।
आइतबार कारोबार खुल्दा २९७५ अंकमा रहेको नेप्से त्यसपछि निरन्तर घट्ने बढ्ने गर्दै अघि बढेको देखिन्छ । कारोबारको प्यार्टनलाई नियाल्दा थोरै बढ्ने र धेरै घट्ने प्रवृत्ति पच्छयाएको छ । तर, अन्तिम समयमा २८८१ अंकमा गएको सूचक एकैपटक बढेर कारोबार बन्द भएकाले सोमबार सुरुमा बजार बढ्न सक्ने संभावना छ ।
तर, लगानीकर्ताको मनोबल कसरी प्रस्तुत हुन्छ त्यसमा दिनभरिको कारोबार टिक्ने छ । गत सोमबार १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएर इतिहास रचेको नेप्सेमा त्यसपछि कारोबार रकम भने घटिरहेको छ । आइतबार पनि ११ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ बराबरको २ करोड ७३ लाख ४४ हजार कित्ता सेयर किनबेच भएको छ ।
आइतबार नेप्सेमा वर्गीकृत १३ वटै समूह सूचक घटेपछि बजार उच्च अंकले गिरावट आएको हो । निरन्तर बढेको बजारमा करेक्सनको आवश्यकता थियो । त्यहीबीचमा बोर्डले कमजोर कम्पनी भनेर प्रेस विज्ञप्ति जारी गरेपछि बजार घट्ने बाटोमा गएको हो । बजारको प्रकृति र प्रवृत्ति हेर्दा अझ झर्ने आंकलन गर्न सकिन्छ ।
केही समयपछि आर्थिक वर्षको अन्त्य हुने र आगामी वर्षका लागि चालू वर्षको नाफाबाट लाभांश लिने समय हुने भएकाले त्यतिबेला बजार नबढी सुखै छैन । त्यसैले यसबीचमा लगानीकर्ताहरु बजारलाई अझ घटाएर आफू अनुकूलको मूल्यमा सेयर किन्ने दाउमा छन् । घट्दो बजारमा साना लगानीकर्ता ‘प्यानिक’ हुन्छन् ।
उनीहरु अझ बजार घट्ने त हाेइन भनेर भएको सेयर बिक्री गर्न खोज्दा बजार घट्न थप दबाब मिल्छ । जसले सीमित लगानीकर्ताहरुलाई फाइदा नै गर्छ । र, जसले न्यूनमा सेयर उठाएर बस्यो उसैले बाजी मार्छ । आइतबार बजार घट्दा सबैभन्दा धेरै युनियन हाइड्रोपावरको ९.८१ प्रतिशतले मूल्य घटेको छ ।
त्यसलाई पच्छयाएको सीईडीबी हाइड्रो फण्डको ८ प्रतिशतले मूल्य घटेको छ । उच्च मूल्य घट्ने १० कम्पनीहरुमा ६ वटा जलविद्युतसँग सम्बन्धित छन् भने ४ वटा वित्त कम्पनीहरु छन् ।
यद्यपि समूह सूचकका आधारमा जीवन बिमा सूचक ३११ र निर्जीव बिमा सूचक २७९ अंकले घटेको छ । आइतबार नेपाल रि–इन्स्योरेन्स कम्पनीको सबैभन्दा धेरै ८० करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।