काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो २० औं वार्षिकोत्सव भर्चुअल माध्यमबाट सञ्चालन गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको हो ।
सो कार्यक्रममा जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिलगायत करिब ३ सय जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।
गभर्नर अधिकारीले संस्थाले साझेदार संस्थामार्फत न्यून आय भएका साना किसानको जीवनस्तर माथि उठाउन केन्द्रित रहेको, संख्यात्मक विस्तारमा गुणात्मक पाटो महत्वपूर्ण राख्ने भएकाले वित्तीय संस्थाले आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र नतिजामुखी सेवा सञ्चालन गर्न सक्षम रहोस् भनी शुभकामना दिएका छन् ।
संस्थाका अध्यक्ष खेमबहादुर पाठकले वित्तीय संस्थामार्फत सहुलियत कर्जा प्रवाह गरी ग्रामीण क्षेत्रमा अवस्थित साना किसान तथा युवाहरूले कृषिसँग सम्बन्धित व्यवसाय तथा उद्यमहरू सञ्चालन गरेको बताए । साथै वित्तीय संस्थालाई अझ सुलभ तथा सहुलियत कर्जा प्राप्त भएमा साना किसानहरूलाई उद्यमी र व्यावसायिक बनाउन सकिने उनको भनाइ छ ।
सो संस्थाले ७४ जिल्लाका ५ सय ३१ पालिकामा ९ सय ५७ साना किसान कृषि सहकारी संस्थासहित कुल १३ सय ७४ सहकारी संस्थाहरुको प्रवद्र्धन र विकास गरी ८ लाख ९७ हजारभन्दा बढी विपन्न तथा साना किसान परिवारमा लघुवित्त एवम् कृषि प्रवद्र्धन कार्यक्रम पुर्याउन सफल भएको छ ।
त्यस्तै, सेवा नपुगेका पालिका तथा जिल्लाहरुमा वित्तीय संस्थाको सेवा विस्तार गर्दै साना किसानको समृद्धिका लागि कृषिको रुपान्तरण र उद्यमशीलता विकासका गतिविधिलाई तीव्रता प्रदान गर्ने यस वित्तीय संस्थाको लक्ष्य रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले बताए ।