काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएको खबर फैलिएसँगै सेयर बजार राताम्मे भएकाे छ ।
अर्थमन्त्रीमा डा. युवराज खतिवडाको बहिरगमनपछि विष्णुप्रसाद पौडेलले जिम्मेवारी लिएपछि निरन्तर बढेको बजारमा राजनीतिक प्रभावले सोमबारको सेयर सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रभावित भएको छ ।
खासगरी, अर्थमन्त्री पौडेलको सेयरबजार मैत्री नीतिले लगानीकर्ता उत्साहित हुँदा गत जेठ ३१ गते हालसम्ममै उच्च अंक ३०२५ सम्म पुगेको थियो । तर, बेला-बेलामा सामान्य करेक्सन भए पनि बजार उचाइकै गतिमा थियो । जेठ यता पनि बजारमा करेक्सन देखिएर गत साता २७८६ सम्म झरेको बजार गतसातकै बिहीबार र आइतबार उचालिएर २९०० बिन्दू हाराहारी पुगेको थियो ।
सोमबार पनि बजार खुल्ने बित्तिकै बजार सूचक बढेर २९३० बिन्दूसम्म पुगेको थियो । घट्ने र बढ्ने क्रममा तीब्रता रहेकै बेला सर्वोच्च अदालतको फैसला बाहिरिँदा नबाहिरिँदै बजार ह्वात्तै घटेर २८४३.१७ बिन्दू सम्म झरेको थियो । त्यसपछि सम्हालिन खोजेको बजार ४५.१२ अंकले घटेर २८५४.७ बिन्दूमा रोकिएको छ । यसदिन कारोबार रकममा भने वृद्धि देखिएको छ। साेमबार ९ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । यद्यपि, २ करोड ६० लाख कित्ता सेयर किनबेच भएको छ । यो आइतबारको तुलनामा कम हो । आइतबार करिब ३ करोड १६ लाख कित्ता सेयर किनबेच भएको थियो ।
यो न्यूनतम बिन्दूभन्दा ११ अंकले माथि हो । यद्यपि, यो घटाइ क्षणिक हो । सेयर बजारमा राजनीतिक प्रभावको असर छिटो देखिन्छ । र, तत्काल प्रतिक्रिया जनाउँछ । यसैको परिणाम सोमबारको सेयर सूचक ओरालो लागेको हो । बजार घट्दा म्युचुअल फन्ड उपसूचक बाहेक सबै ओरालो लागेको छ ।
घटेको बजारमा पनि समृद्धि फाइनान्सको सबैभन्दा धेरै ५.२४ प्रतिशतले मूल्य बढेको छ । आइतबार अधिकांश ऋणपत्रको मूल्य घटेकोमा सोमबार भने बढेको छ । बजार घट्दा पनि युनियन हाइड्रो पावरको सबैभन्दा धेरै ५.३३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी सेयर मूल्य घट्ने १० कम्पनीमा ७ वटा जलविद्युत् समूहसँग सम्बन्धित छन् ।
पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने बित्तिकै ब्रोकर कमिसन घटाउन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका थिए । सेयर लगानीकर्ताले बारम्बार ब्रोकर कमिसन संसारमै महँगो भएको र यसलाई घटाउनुपर्ने आवाज उठाइरहेका थिए । अर्थमन्त्रीबाट खतिवडा बिदाइ भएसँगै पौडेलले जिम्मेवारी लिएको र सोही बेला ब्रोकर कमिसन घटाउन निर्देशन दिएपछि बजारमा सकारात्मक सन्देश प्रवाह भएको थियो ।
२०७७ असोज २८ मा पौडेल अर्थमन्त्री हुँदा १५६१ मा नेप्से सूचक थियो । यसबीचमा नेप्से परिसूचकमा झण्डै सतप्रतिशतले वृद्धि भएको छ । ८ महिनामा सतप्रतिशतले नेप्से सूचक बढेको देखिएको हो । कारोबार रकम पनि अर्थमन्त्री पौडेल हुँदा १९ अर्ब ९५ करोड रुपैयाँसम्म पुगेर रेकर्ड बनाएको छ । यद्यपि, कारोबार रकम घटेका बेला पछिल्लो समय ४ अर्ब रुपैयाँसम्म खुम्चिएको छ ।