काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने भएपछि सेयर बजार दोहोरो अंकले बढेको छ । लोकतान्त्रिक पार्टीको नेतृत्वमा सरकार बनेपछि सेयर बजारका लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह हुने र मनोबल पनि उच्च बन्ने गरेको छ ।
त्यही भएर मंगलबारको सेयर बजार दोहोरो अंकले बढेको हो । अर्थमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की आउने पक्का-पक्की भएपछि पनि लगानीकर्ताको मनोबल उच्च भएको हो ।
बजारमा करिब एक महिनाको अवधिमा ठूलै गिरावट आयो । कतिपय कम्पनीहरुको मूल्य बेस्सरी घट्यो । घट्दो बजारमा आम लगानीकर्ताको मनोविज्ञान अझै खस्कियो ।
यसरी बजार घट्दा अधिकांश कम्पनीको मूल्य निकै सस्तो भइसकेको छ । यसरी सस्तो भएको बजारमा एकाएक लगानीकर्ताको प्रवेश भएको अनुमान गरिएको छ ।
असार मसान्त नजिकिँदै गर्दा बजारले सकारात्मक संकेत देखाएको हो । सरकारी खर्च ह्वात्तै बढेका कारण बजारमा पैसा आएको छ । यसले बैंकमा निक्षेप पनि थपिएको छ । यसको सकारात्मक प्रभाव बजारमा परेको अनुमान गरिएको छ । यस्तै, यसअघि संस्थागत लगानीकर्ता, म्युचुअल फन्ड र ठूला लगानीकर्ताले सेयर बिक्री गरेका थिए ।
कर तिर्न, बैंकको साँवा–ब्याज भुक्तानीका लागि उनीहरुले रकम जोहो गरिसकेकाले फेरि विस्तारै बजार प्रवेश गरेको अनुमान छ । यसअघि निरन्तर भाउ घटेकाले पनि लगानीकर्ताहरु आकर्षित भएका हुन् । सेयर बजारमा सिजन सुरु भएको छ । अहिले सेयर होल्ड गर्न सके छोटो समयमै लाभांश दाबी गर्न पाइन्छ ।
साउन लागेपछि सूचीकृत कम्पनीहरुको वार्षिक वित्तीय विवरण आउन थाल्नेछ । त्यसपछि लाभांश घोषणा र साधारणसभाको समय हुनेछ । अहिले सेयर होल्ड गर्नेले निकै छोटो समयमा लाभांश प्राप्त गर्न सक्नेछन् । यही कारण पनि बजारमा अब विस्तारै लगानीकर्ताको आकर्षण बढ्ने विश्लेषण गर्न सकिन्छ ।
यतिबेला सर्वसाधारण लगानीकर्ताले मौद्रिक नीति कस्तो आउला भन्ने चासो रहेको छ । मौद्रिक नीतिले पनि बजारमा नकारात्मक असर पार्ने काम नगरेमा अरु हिसाबले बजारलाई नकारात्मक पर्ने अवस्था अहिले छैन । लगानीकर्ताले कुनै पनि कम्पनीको नाफा, रिजर्भ, वितरणयोग्य मुनाफा, प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात तथा भविष्यमा व्यवसाय विस्तारको सम्भावनालाई ख्याल गर्दै लगानी गर्न विश्लेषकहरुले सुझाव दिने गरेका छन् ।
यस्तै, पीई रेसियोसमेत अध्ययन गर्दै सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्न सके जोखिम न्यूनीकरण गर्न र अधिकतम लाभ लिन सहयोग पुग्न सक्छ । लगानी गर्दा होल्ड गर्ने पिरियडका बारेमा पनि निश्चित हुनुपर्छ । अल्पकालीन, मध्यकालीन वा दीर्घकालीन कस्तो प्रकारको लगानी गर्ने भन्ने पूर्वयोजना बनाउन सके निकै सजिलो हुने अनुभवी लगानीकर्ताहरुको भनाइ रहेको छ ।
अनलाइन प्रणालीको विकासले देश–विदेशमा रहेका लगानीकर्तालाई कारोबार गर्न निकै सहज भएको छ । प्रविधिको मूल्य पनि सेयर बजारमा देखिने जानकारहरुले बताएका छन् ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.३४ अंकले बढेर २८७१.०४ बिन्दूमा पुगेको छ । त्यसैगरी, यसदिन कारोबार रकममा भने गिरावट आएको छ । सोमबार बजार घटे पनि कारोबार रकम झण्डै १० अर्ब रुपैयाँ भएको थियो । तर, मंगलबार ५ अर्ब ५४ करोड रुपैयाँ मात्रै काराेबार भएको छ । कारोबार रकम घट्नु सेयर बजारका लागि राम्रो मानिदैन ।