काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम दिन बिहीबार सेयर बजार बढेको छ । अन्तिम दिन बजार बढेकाले आगामी वर्षका लागि सकारात्मक संकेत देखिएको छ ।
बिहीबार सेयर बजार ११.३३ अंकले बढेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८८३ अंकमा पुगेको छ । केही दिन निरन्तर घटेको बजारमा बुधबार केही सुधार आएको थियो ।
बिहीबार बजारमा तिब्र उतारचढाव आएको छ । बजार खुल्दा २८८१ अंकमा रहेकोमा पछि घटेर २८७७ अंकमा झरेको थियो । त्यसपछि उकालो लागेको बजारमा २८७७ अंकमा झरेर बढेको थियो ।
बैंकिङ, व्यापार, जलविद्युत, वित्त, निर्जीवन बिमा, लघुवित्त र म्युचअल फण्ड उपसूचक बढेका छन् । यस्तै होटल एन्ड टुरिज्म, विकास बैंक, उत्पादनमूलक, जीवन बिमा र लगानी उपसूचक घटेका छन् ।
बिहीबार ८ अर्ब १४ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी गोर्खाज फाइनान्स लिमिटेडको सेयर किनबेच भएको छ । गोर्खाजको प्रतिकित्ता १२२१ मा ३६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
यस्तै एनआईसी एसिया बैंकको ९९४ मा ३३ करोड रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । बिहीबार कमाउनेमा अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् । रैराङ हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशत भन्दा माथि वृद्धि भएको छ ।