दमौली । ट्र्याक खुलेको २९ वर्षपछि सडक कालोपत्रे गरिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ सहिद गीता मोटरमार्गको टुँडा खण्ड २९ वर्षपछि कालोपत्रे गरिएको हो । विसं २०४९ जेठ २ गते ट्र्याक खोलिएको उक्त खण्डमा ३०० मिटर सडक कालोपत्रे भएपछि स्थानीयवासी खुसी छन् ।
स्थानीयवासी हर्कबहादुर गुरुङले लामो समयपछि सडक कालोपत्र हुँदा खुशीको सीमा नै नरहेको बताए । “त्यतिबेला मिर्छुलुङको बाटो खन्ने कुरा थियो । हामीले पनि यहाँ बाटो खन्न माग गर्यौँ । मिर्छुलुङको बाटो खन्न जाने डोजरलाई दुई दिन रोकेर यहाँको बाटो खन्न दिएपछि ट्र्याक खोलिएको थियो”, उनले भने ।
तत्कालीन समयमा भिमाद हुँदै तनहुँका दक्षिण क्षेत्र जाने मुख्य सडक नै यही थियो । अहिलेको तिम्लिसिना चोकबाट टुँडा हुँदै शान्तिनगर–स्याउली बजार झरेर भिमाद जाने सडक ट्र्याक खोलिएको थियो । केही वर्ष यही सडक चल्यो । पछि फराकिलो बनाउँदा यहाँका थुप्रै घर भत्काउनुपर्ने अवस्था आएपछि सडक भिमादचोकबाट भोटेपानी हुँदै शान्तिनगर डाइभर्ट गरिएको थियो ।
ट्र्याक फेरिएपछि स्थानीयवासीको चासो नहुँदा सडकको मुहार फेरिन निकै लामो समय लागेको गुरुङले बताए। गण्डकी प्रदेश सरकार, शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सडक कालोपत्र गरिएको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी दिए। ४० लाख ६० हजार ३ सय ४७ रुपैयाँको लागतमा सडक कालोपत्र गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकाले रु १७ लाख ५० हजार र गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पूर्वाधार विकास कार्यक्रममार्फत रु पाँच लाख बजेट उपलब्ध गराए । स्थानीयवासीले १८ लाख १० हजार ३ सय ४७ रुपैयाँलागत साझेदारी गरेका छन् ।
वडाध्यक्ष क्षेत्रीका अनुसार ३०० मिटर सडक कालेपत्रसँगै छ सय मिटर पक्की नाला बनाइएको छ । वडाले उपभोक्तासँगको साझेदारीमा सडक कालोपत्रलाई प्राथमिकता दिएको उनले बताए । कालोपत्र नहुँदासम्म यो सडकको अवस्था वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो ।
ट्र्याक खोलेको २९ वर्षमा घरदैलोको सडक चिल्लो भएपछि स्थानीयवासीले राहतको महसुस गरेका छन् । तर, टुँडाको प्रवेशद्वार खैरेनीटार साना शहरी खानेपानी आयोजनाको ट्याङ्कीबाट झण्डै ५०० मिटर सडकको अवस्था भने बिजोग छ । यो खण्ड पनि कालोपत्र गर्न स्थानीयवासीको माग छ । रासस