काठमाडौं। मध्यपूर्व युद्धका कारण इन्धन मूल्य निरन्तर उकालो लागेसँगै नेपाली उपभोक्ताको आकर्षण विद्युतीय सवारी (ईभी)तिर जान लागेको देखिँदै छ। इन्धनको मूल्य बढेसँगै बढ्दो खर्चबाट बच्न सहरकेन्द्रित यात्रु विशेषगरी दुईपांग्रे ईभीमा आकर्षित भइरहेका हुन्। केही समयअघिसम्म सीमित रुचिमा रहेको ईभी बजारमा अहिले सोधपुछ र बिक्री दुवै बढ्दो क्रममा देखिएको व्यवसायी बताउँछन्।
इन्धनको मूल्य बढेसँगै उपभोक्ता ईभी बाइक तथा स्कुटरतर्फ आकर्षित भइरहेको वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्य बताउँछन्। ‘केही समयअघिसम्म ईभी बाइक तथा स्कुटरमा ग्राहक उत्साह तुलनात्मक रूपमा कम देखिए पनि अहिले यो प्रवृत्ति परिवर्तन भएको छ,’ उनले भने, ‘विगतमा ईभी हिस्सा ३ प्रतिशत थियो भने इन्धन बाइक तथा स्कुटरको हिस्सा ९७ प्रतिशत थियो। तर, इन्धनको मूल्य वृद्धिभएसँगै यो परिवर्तन भएको छ।’
उनका अनुसार पेट्रोल र डिजेल मूल्यमा भइरहेको निरन्तर वृद्धिसँगै नेपाली बजारमा उपभोक्ता ईभीतर्फ आकर्षित हुने क्रम बढेको देखिएको छ। सोही कारण एथर, चेतक, टिभिएस सबै ईभी ब्रान्डको बिक्री बढेको छ।
व्यवसायीका अनुसार केही समयअघिसम्म दुईपांग्रे ईभीप्रति उपभोक्ता रुचि सीमित थियो। तर, इन्धन मूल्यमा भएको वृद्धिले उपभोक्ताको सोचमा परिवर्तन ल्याएको छ।
‘ईभीको लोकप्रियता बढे पनि पेट्रोल बाइक तथा स्कुटर बजार पूर्ण रूपमा समाप्त हुने सम्भावना भने देखिँदैन। आगामी केही वर्षसम्म यी दुवै बजारमा रहने निश्चित छ। अहिले ईभी बाइक तथा स्कुटरमा ग्राहकलाई रेन्ज एन्जाइटी भए पनि बिक्री बढेको छ’ उनले भने।
फागुनमा १६०/१७० युनिट एथर बिक्री भएकामा यो महिना २०० बिक्री हुने अपेक्षा गरिएको छ। यो मात्र नभएर इन्धनको मूल्यवृद्धि भएसँगै टीभीएस चेतकलगायतका ईभीको बिक्री बढिरहेको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको कारण देखाउँदै पेट्रोल र डिजेलको मूल्य बढाएको छ। इन्धनको लागत बढेपछि पेट्रोल बाइक तथा स्कुटर खरिद गर्ने सोच भएका उपभोक्ता धमाधम ईभीमा सिफ्ट हुन थालेका छन्।
पेट्रोलियम मूल्य बढ्दा बजारमा ईभीप्रति ग्राहकको चासो बढ्ने कुजु नेपालका प्रबन्ध निर्देशक उम्मिद श्रेष्ठ बताउँछन्। ‘पेट्रोल भाउ बढ्दा ईभीप्रति चासो त बढ्छ, तर १५ रुपैयाँ जस्तो सामान्य वृद्धिले मात्रै ठूलो ‘कन्भर्सन’ भइहालेको देखिँदैन,’ उनले भने, ‘अहिले सोधपुछ गर्न आउनेको संख्या बढेको छ, तर त्यो सबै बिक्रीमा परिणत हुन सकेको छैन।’ ग्राहक अझै पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ।
उनका अनुसार हाल ईभी बाइक तथा स्कुटरको बजारमा ग्राहकको आवागमन केही बढेको छ। अघिल्ला महिनामा बिक्री अत्यन्तै सुस्त रहेकाले अहिलेको वृद्धि आंशिक रूपमा ‘पेन्डिङ डिमान्ड’को असर पनि हुन सक्छ। केही समय बिक्री नै नभएको अवस्था थियो, अहिले आएर ग्राहक चासो बढेको देखिन्छ।
व्यवसायीका अनुसार केही समयअघिसम्म दुईपांग्रे ईभीप्रति उपभोक्ता रूचि सीमित थियो। तर, इन्धन मूल्यमा भएको वृद्धिले उपभोक्ताको सोचमा परिवर्तन ल्याएको छ। सोरुमा पुग्ने अधिकांश ग्राहकले पेट्रोल बाइकको विकल्पमा ईभी स्कुटर तथा मोटरसाइकलबारे सोधपुछ गर्ने गरेका छन्। विशेषगरी सहरी क्षेत्रका युवापुस्तामाझ ईभी आकर्षण उल्लेख्य बढेको व्यवसायी बताउँछन्।