काठमाडौं । सरकारले आइतबार राति ७ बजेबाट दुई थरी लाभकरको सिष्टम कार्यान्वयनमा ल्याएको छ । खासगरी साना तथा सर्टटम लगानी गर्नेलाई विशेष टार्गेट गरेर यस अघिको सरकारले दुई थरी पुँजीगत लाभकरको व्यवस्था गर्यो ।
३६५ दिनपछि सेयर बेच्दा ५ प्रतिशत लाभकर तिरे पुग्ने बनायो भने ३६५ दिनभन्दा अघि सेयर बेचे ७.५ प्रतिशत लाभकर लिने व्यवस्था कार्यान्वयनमा आइसकेको छ । सेयर बजारमा नयाँ लगानीकर्तालाई प्रवेश गर्न रोक्ने नियमको रुपमा कतिपय लगानीकर्ताले अर्थ्याएका छन् ।
बजारमा जतिसक्दो लगानीकर्तालाई प्रवेशको वातावरण बनाउनुपर्ने हो । जति धेरै लगानीकर्ता बजारमा प्रवेश गर्छन्, त्यति धेरै सरकारले राजस्व पाउँछ । तर, यहाँ नयाँ लगानीकर्तालाई रोक्ने प्रयास भएको देखिन्छ ।
त्यही भएर लगानीकर्ताका संघ-संस्थाहरुलाई विभेदकारी नियम खारेज गर्न अर्थमन्त्री जनार्दन शर्मासँग आग्रह गरेका छन् । यस अघिको सरकारले सटर्टम र दीर्घकालीन लगानीकर्ताबीच विभेद गरेकाले त्यो निर्णयलाई सच्याउन माग गरेका छन् ।
अर्थमन्त्री शर्माले यो विषयलाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सरकारले नयाँ बजेट ल्याउने वा नल्याउने विषयमा छलफल गरिरहेको छ ।
बजारप्रति सकारात्मक बनेका शर्माले ब्रोकर कमिसनका बारेमा समेत चासो लिएका छन् । त्यसैगरी, बैंकलाई ब्रोकर लाइसेन्स दिने विषयमा पनि सकारात्मक बनेका छन् । पुँजीगत लाभकरले लगानीकर्तामा विभेद निम्त्याएकाले यस्तो निर्णय खारेज गर्नुपर्ने लगानीकर्ताका संघ÷संस्थाका प्रतिनिधिले बताइरहेका छन् । यद्यपि, सीडीएससीले दुई थरी लाभकर उठाउन थालिसकेको छ ।