काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.०१ अंकले घटेर २९८५.५७ बिन्दूमा आइपुगेको छ । लगातार ५ मा १३९ अंकले बढेको नेप्से परिसूचक मंगलबार केही घटेको हो । खासगरी, निरन्तर सूचक बढिरहँदाको स्थितिमा कारोबारीहरुले नाफा बुक गर्दा त्यसको असर नेप्सेमा देखिएको हो ।
केही कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरे पनि अधिकांश कम्पनीहरुले अझै वित्तीय विवरण सार्वजनिक गर्न पर्खिएकाले लगानीकर्ता पनि केही समय पर्ख र हेरको रणनीति बनाउन लागेका छन् । यद्यपि, विगतमा जस्तो लगानीकर्ताहरु अत्तालिएर घाटा खाएर भए पनि सेयर बेच्न लालायित देखिएका छैनन् । विगतमा बजार केही अंकले मात्रै घटदा पनि अब बजार घट्ने भयो भनेर प्यानिक सेलमा उत्रिन्थे । तर, यसपटक त्यस्तो देखिएको छैन ।
सोमबार पनि बजार घटाउन निकै प्रयास भएको थियो । तर, अन्तिममा करिब १४ अंकले बढेको थियो । मंगलबार लक्ष्मी म्युचुअल फन्डले २५ प्रतिशत लाभांश घोषणा गरेपछि लगानीकर्ताको ध्यान म्युचुअल फन्डतिर गएको छ । जसले म्युचुअल फन्डको सेयर उठाउन मद्दत गरेको छ ।
२५ प्रतिशत लाभांश घोषणा गरेको लक्ष्मी उन्नति कोषको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने लक्ष्मी इक्वटी फन्डको मूल्य पनि १० प्रतिशतले नै बढेको छ ।
१० उच्च मूल्य वृद्धि भएकोमा ८ वटा म्युचुलअ फन्ड छन् भने दुईवटा जलविद्युत् कम्पनी छन् । मंगलबारको कारोबार हेर्दा बिहीबार बजार एक चरण अझ घट्ने सम्भावना छ । यद्यपि, अन्तिम समयमा सकारात्मक नहोला भन्न सकिन्न । तर, अर्को साता बजारले नयाँ उचाइ लिने प्रवल सम्भावना छ ।
अर्को सातासम्ममा आधाभन्दा बढी कम्पनीहरुको वित्तीय विवरण पनि सार्वजनिक भइसकेको हुनेछ । त्यसले बजार कता लैजाने भनेर दिशानिर्देश गर्ने लगानीकर्ताहरुको बुझाइ छ ।
मंगलबार नेप्से सूचक मात्रै घटेको छैन, सेयर कित्ता र कारोबार रकम पनि घटेको छ । यसदिन ३ करोड १६ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८९ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ३ करोड ७७ लाख ७१ हजार सेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।