काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना १ वर्ष ढिलो हुने भएको छ । दोर्दीमा आएको भिषण बाढीले आयोजनाको सुरुङलगायत केही संरचनामा क्षति पुर्याएपछि आयोजनाबाट बिजुली उत्पादन हुने समय १ वर्ष थप हुने देखिएको हो ।
हिमालयन पावरले शुक्रबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा बाढीका कारण आयोजनामा क्षति हुनुका साथै नेपाल विद्युत् प्राधिकरणले समयमा प्रसारण लाइनको काम सम्पन्न नभएपछि बिजुली उत्पादन मिति धकेलिएर सन २०२० मा पुग्ने जानकारी दिएको छ । यद्यपि कम्पनीले नयाँ बिजुली उत्पादन तालिका भने सार्वजनिक गरेको छैन ।
पुरानो तालिकाअनुसार आउँदो भदौको दोस्रोसाता भित्र बिजुली उत्पादन हुनु पर्नेमा अकास्मात आएको बाढीले क्षति गराएपछि समय पछि धकेलिने अवस्थामा पुगेको कम्पनीले वित्तीय विवरणमा उल्लेख गरेको छ ।
२०१४ अप्रिलबाट निर्माण सुरु भएको आयोजना २०१७ जुनमा सम्पन्न हुनुपर्ने थियो । नाकावन्दीले गर्दा आयोजना सो समयमा सम्पन्न हुन सकेन । विद्युत् प्राधिकरणले व्यावसायिक मिति थप गरेको थियो ।
आयोजनामा आईएमई ग्रुप, एनआरएन इन्फास्ट्रक्चरको लगानी छ । कम्पनीको चुत्तापुँजी १ अर्ब ६ करोड ५४ लाख रुपैयाँ छ । कम्पनीले सर्वसाधारणलाई सेयर निष्कासन गरिसकेको छ ।
आयोजनाबाट वार्षिक १४ करोड ८२ लाख १४ हजार युनिट बिजुली उत्पादन हुने हिमालयनले जनाएको छ । १ अर्ब ८८ करोड १२ लाख रुपैयाँ दीर्घकालीन कर्जा रहेको छ । यस्तै ४२ करोड ८९ लाख रुपैयाँ रहेको हिमालयनले जनाएको छ ।
आयोजनाको कुल लागत ३ अर्ब ५९ करोड रुपैयाँ छ । प्राइम कमर्शियल बैङ्कको अगुवाइमा ऋण लगानी भएको हो । आयोजनाको प्रतिफल १४.३५ प्रतिशत छ । आयोजना लम्जुङको ढोडेनीस्थित मर्स्याङ्दी नदीको किनारमा रहेको छ ।