दमौली । आन्तरिक राजस्व कार्यालय तनहुँले लक्ष्यको ९९.२५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ ।
कोरोना कहर र निषेधाज्ञाका बाबजुद पनि कार्यालयले आफ्नो लक्ष्य भेटाएको हो । आर्थिक वर्ष ०७७/७८ मा कार्यालयले ८ अर्ब ५० करोड २६ लाख ६१ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत डा नारायण ढकालले जानकारी दिए । कार्यालयले उक्त आवमा रु. ८ अर्ब ५६ करोड ६८ लाख ३७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो ।
“विषम् परिस्थितिका बाबजुद पनि लक्ष्य नजिक राजस्व सङ्कलन भएको छ”, उनले भने, “कोरोना कहर र निषेधाज्ञा नभएको भए झन बढी राजस्व सङ्कलन हुन्थ्यो ।” उनका अनुसार निषेधाज्ञाका कारण बढी कर तिर्ने उद्योग बन्द हुँदा राजस्व सङ्कलनमा केही कमी आएको हो ।
तनहुँमा सबैभन्दा बढी सूर्य नेपाल प्रालिले कर तिर्दै आएको छ । कार्यालयले यस अवधिमा आयकरतर्फ १ अर्ब ५० करोड ६ लाख २० हजार रूपैयाँ, घरबहाल करतर्फ ५ करोड ३७ लाख ४२ हजार रूपैयाँ, ब्याजतर्फ ८ करोड ४ लाख ४५ हजार रूपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ५९ करोड ४८ लाख ८१ हजार रूपैयाँ, अन्तःशुल्कतर्फ ६ अर्ब १ करोड १९ लाख ९२ हजार रूपैयाँ, स्वास्थ्यतर्फ १ अर्ब ७१ करोड ७ लाख ९४ हजार र शिक्षातर्फ १ लाख ८७ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको छ ।
आयकरतर्फ १ अर्ब ३५ करोड ५३ लाख ५१ हजार ८ सय रूपैयाँ, घरबहाल करतर्फ ५ करोड ९४ लाख ५६ हजार रूपैयाँ, ब्याजतर्फ ७ करोड ९२ लाख ८३ हजार रूपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ४६ करोड ४८ लाख ६९ हजार रूपैयाँ, अन्तःशुल्कतर्फ ५ अर्ब ६५ करोड २४ लाख ४४ हजाररूपैयाँ, स्वास्थ्यतर्फ ९५ करोड २६ लाख २२ हजार रूपैयाँ र शिक्षातर्फ ४६ लाख ४४ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य थियो ।
कार्यालयले मूल्यअभिवृद्धितर्फ लक्ष्यको १२७.९७, ब्याजतर्फ १०१.४७ र स्वास्थ्यतर्फ १७९.५० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ भने अन्यतर्फ करिब लक्ष्य नजिक राजस्व सङ्कलन गरेको प्रमुख कर अधिकृत ढकालले बताए। उनका अनुसार असार महिनामा मात्रै १ अर्ब २२ करोड ७२ लाख २० हजार रूपैयाँ राजस्व सङ्कलन भएको थियो ।
वैशाख २२ गतेदेखि तनहुँमा निषेधाज्ञा जारी गरी सेवा प्रवाह बन्द गरिएकामा असार २० गते कार्यालय सुचारु भएको थियो । कार्यालयले गत आर्थिक वर्ष ०७६/७७ मा ७ अर्ब ३५ करोड २ लाख ५६ हजार रूपैयाँ राजस्व सङ्कलन गरेको थियो । उक्त वर्ष कार्यालयले ८ अर्ब ६० करोड ९६ लाख ५९ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा ८५.३७ प्रतिशत मात्र राजस्व सङ्कलन भएको थियो ।
कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङको असुली गणना, लेखापरीक्षण र अनुसन्धानको काम गर्दै आएको छ । यद्यपि गत वर्षदेखि गोरखा र लमजुङमा करदाता सेवा कार्यालय स्थापना भएको छ । मनाङका करदाताले लमजुङबाट कर तिर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त दुई जिल्लामा करदाता सेवा कार्यालय नहुँदा त्यहाँका करदाताले पनि दमौलीमै आएर कर तिर्नुपर्ने बाध्यता थियो ।
१८ हजार ३ सय ३६ करदाता थपिए
कार्यालयमा एक वर्षको अवधिमा व्यावसायिक र व्यक्तिगत गरी कुल १८ हजार ३ सय ३६ करदाता थपिएका छन् । व्यावसायिकतर्फ नौ हजार सय ३५ र व्यक्तिगततर्फ ९ हजार १ करदाता थपिएको प्रमुख कर अधिकृत ढकालले बताउनुभयो । कार्यालयमा हालसम्म व्यावसायिकतर्फ ४१ हजार ८ सय ९ र व्यक्तिगततर्फ ३२ हजार सय ४१ करदाता छन् ।