काठमाडौं । सुस्ताएको सेयर बजारमा चमकधमक जलविद्युत समूहकै देखिएको छ । केही दिनदेखि निरन्तर उचालिएको जलविद्युत क्षेत्र सोमबार ओरालो लागेको छ । तर, केही जलविद्युत कम्पनीहरुको सेयर मूल्यमा उछाल कायमै छ ।
खासगरी कमजोर भनिएका जलविद्युत कम्पनीहरुको सेयर मूल्यमा उछाल जारी छ । यद्यिप आइतबारदेखि नै सुस्ताउन खोजेको बजार सोमबार पनि सुस्तनै देखियो । सोमबार कारोबार सुरु हुने बित्तिकै ३१०० अंक छोएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) त्यसपछि घट्दो क्रममा देखिएको छ ।
कारोबारको मध्यतिर ३०९३ सम्म चले पनि यसले निरन्तरता पाउन सकेन । कारोबारको अन्तिम समयतिर ३०७९ सम्म झरेको बजार अन्तिम समयमा ४.०६ अंकले बढ्दै ३०८५.०७ अंकमा रोकिएको छ । आइतबार पनि जलविद्युत कम्पनीमा चमक आउँदा १ अंकले बढेको थियो ।
सोमबार घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ भने युनिभर्सल पावर कम्पनी र अरुण कावेली पावर कम्पनीले यसलाई सहयोग गरिरहेका छन् । सबैभन्दा बढी मूल्य घट्ने क्षेत्रमा पनि जलविद्युत नै परेको छ ।
उच्च सेयर मूल्य गिरावट आउने १० कम्पनीमध्ये जलविद्युतका ७ वटा छन् । तर, सबैभन्दा बढी माउन्टेन हाइड्रो नेपालको ५.६४ प्रतिशतले घटेको छ । कारोबारको अन्तिम समयमा लघुवित्त संस्थाहरुमा उछाल देखिएको छ ।
केही समयदेखि गुराँस लघुवित्त संस्थाको सेयर मूल्यमा १० प्रतिशत बढेको छ भने त्यसलाई पच्छाएको फस्र्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा ८.८ प्रतिशतको वृद्धि रहेको छ । अन्तिम समयतिर अधिकांश लघुवित्त कम्पनीको सेयर मूल्यमा चमक आएको छ । केही समयदेखि सुस्ताएको लघुवित्तमा सोमबार उछाल आएको छ ।
१२४ अंकले बढेको लघुवित्त समूहलाई उत्पादन तथा प्रशोधनमूलक, लगानी, वित्त र बैंकिङ समूहले थेग्ने कोसिस गर्दा अन्तिम समयमा बजार बढेको हो ।
सोमबार १० अर्ब ९८ करोड रुपैयाँको सेयर किनबेच हुँदा जलविद्युत समूहको मात्रै ४ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । आइतबार पनि सबैभन्दा बढी कारोबार जलविद्युत समूहकै थियो ।
अरुण कावेली पावर कम्पनीको जलविद्युतको ३७ करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उच्च १० कारोबारमध्ये जलविद्युत समूहकै ७ वटा छन् ।
यो पनि हेर्नुहोस्
जलविद्युतमा उछाल, बिमा र बैंकिङ लागे ओरालो