काठमाडौं । मौद्रिक नीतिका प्रारम्भिक सूचनाहरु बाहिरिएको आंशका सुरु भएको छ । नेपाल राष्ट्र बैंकले यसैसाता मौद्रिक नीति ल्याउने तयारी गरिरहेको भनेकोमा मंगलबारदेखि एकाएक लघुवित्त संस्थाहरुको सेयरमा चमक देखिएको छ ।
धेरैले लघुवित्तमा नयाँ केही प्रावधान आउने थाहा पाएपछि बजार उछालिएको हो । सोमबार अन्तिम समयतिर एकाएक उचालिएको लघुवित्त संस्थाहरुको सेयर मूल्य मंगलबार आक्रामक ढंगले बढ्यो । यसले समग्र सेयर बजार सूचकलाई नै उचालेर हालसम्मै उच्च विन्दूमा पुर्याएको छ । मंगलबार २६.०२ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक बढ्दै ३१११.०९ अंकमा चढेको छ ।
गतसाता केन्दीय बैंकले बैंक तथा वित्तीय संस्था (लघुवित्त समेत)को असल कर्जामा ०.३ प्रतिशत थप प्रोभिजन राख्नुपर्ने व्यवस्थासँगै सुस्ताएको लघुवित्त क्षेत्र यो साता एकाएक चम्किएको हो । यद्यपि, बैंकिङ, विकास बैंक र वित्तमा खासै सुधार देखिँदैन । कतिपय कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्न थालेसँगै सेयर मूल्य प्रभावित हुन थालेको छ ।
कतिपय कम्पनीको नाफासँगै सेयर मूल्य बढ्ने ट्रेन्ड देखिएको भने कतिपय कम्पनीको नाफा बढे पनि लाभांश क्षमतामा कमी आउँदा सेयर मूल्य प्रभावित भएको छ । यो साता सेयर बजारले नयाँ रेकर्ड बनाएर अघि बढ्ने छनक दिएको छ । यद्यपि, आइतबार र सोमबार बजार सुस्ताएको थियो । आइतबार अन्तिम समयमा १ अंकले बढेको नेप्से सूचक सोमबार ४ अंकले मात्रै झिनो सुधार आएको थियो ।
सबैजसो लघुवित्तको सेयर मंगलबार बढेको छ । यसले लामो समयदेखि सुस्ताएको लघुवित्त क्षेत्रलाई तरङ्गित बनाएको छ । यद्यपि, मुख्य उच्च मूल्य भएको लघवित्तमा जीवन विकास र स्वाबलम्बन मात्रै छन् । जीवन विकासको यसैसाता मात्रै कारोबार सुरु भएको थियो । तर, उच्च मूल्य भएका २० कम्पनीभित्र पनि १० वटा लघुवित्त छन् ।
सबैभन्दा बढी मूल्य बढ्ने कम्पनीहरुको सूचीमा भने जलविद्युत् नै छन् । पाँचथर पावर र रुरुको सेयर मूल्य १० प्रतिशतले नै बढेको छ । उता यसैसाता कारोबार सुरु भएको युनियन लाइफको सेयर मूल्य पनि करिब १० प्रतिशतले नै बढेको छ ।
बढेको बजारमा मंगलबार युनिलिभरको सबैभन्दा धेरै मूल्य घटेको छ र उसको ३.७९ प्रतिशतले मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार यसदिन १३१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४७ कम्पनीको घट्दा ७ कम्पनीको भने स्थिर छ ।
मंगलबार ११ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार हुँदा २ करोड ११ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ । यसदिन सबैभन्दा बढी अपी पावरको ४६ करोड ८२ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।