काठमाडौं । सेयर कारोबार गर्नेहरुको संख्या बढेसँगै धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पनी)हरुको मनोमानी पनि बढिरहेको छ । नियमनकारी निकायको मौनताको फाइदा उठाउँदै ब्रोकर कम्पनीहरुले सेयर बिक्री गर्नेको खातामा पैसा हालिदिन ढिलाइ गर्ने प्रवृत्तिमा कुनै सुधार आएको छैन ।
खासगरी नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना ब्रोकरका पक्षमा उभिएपछि ब्रोकरहरु मात्तिँदै गएका छन् । उनीहरुले सेयर खरिदबापतको पैसाका लागि सेयर बेचेकै क्षणदेखि लगानीकर्तालाई फोन गर्ने, एसएमएस गर्ने गरे पनि बिक्रीकर्ताका लागि भने सेयर नामसारी गरिदिन आग्रहसहितको सुरुवाती सन्देश (म्यासेज) पठाउने गरेका छन् ।
तर, लगानीकर्ताले सेयर नामसारी गरेको हप्तौं बितिसक्दा पनि पैसा नपठाउने, यदि सेयर बेचेको पैसा लिनु परेमा ब्रोकरलाई इमेलमार्फत जानकारी गराउनुपर्ने बाध्यकारी बनाएका छन् । सामाजिक सञ्जालमा यसबारेमा व्यापक बहस पनि हुने गरेको छ । तर, ब्रोकरहरुको मनोमानीमा कुनै कमी आएको छैन ।
बोर्डले केही समयअघि नयाँ ब्रोकर थप्ने र बैंकहरुका सहायक कम्पनीलाई पनि ब्रोकर अनुमति दिने खालका सन्देश पठाएका बेला ब्रोकरहरु सतर्क थिए र केही समय छिटो गरि रकम पठाइदिने गरेकोमा अहिले फेरि ढिलो हुन थालेको छ ।
तर, सेयर खरिद गर्दा भने लगानीकर्ताहरुले ‘टी प्लस वान’लाई पूर्णरूपमा पालना गर्नुपर्छ । । यदी लगानीकर्ताले ‘टी प्लस वान’ अनुसार रकम जम्मा नगर्ने हो भने उसलाई जरिवाना र सेयर हस्तान्तरण नै रोकिदिने गरेका छन् ।
बोर्डका प्रवक्ता निरज गिरीले ब्रोकर कम्पनीले लगानीकर्ताको रकम लामो समयसम्म रोक्न नपाउने बताए । ‘नियम अनुसार भुक्तानी हुनुपर्ने हो’, प्रवक्ता गिरीले भने, ‘समस्या भएको भए तत्कालै बुझेर कार्यान्वयन गर्न लगाउछु’ । प्रवक्ता गिरीले लगानीकर्ताले समस्या भोगेको भए र नियमानुसार भुक्तानी नभएको भए बोर्डलाई यथासिघ्र जानकारी गराएको खन्डमा कार्यान्वयन गराउन अझ सजिलो हुने बताए ।