काठमाडौं । निरन्तर जलविद्युत क्षेत्रले नै सेयर बजार तताइरहेको छ । बुधबार पनि जलविद्युत क्षेत्रको कम्पनीहरुको मूल्यमा उछाल आएको छ ।
लामो समयदेखि सुस्ताएको माथिल्लो तामाकोसीको सेयरमा एकाएक चमक आएपछि अन्य विद्युत कम्पनीपनि पच्छाउँदै अघि बढ्यो । कारोबारको सुरुमै माथिल्लो तामाकोसीको सर्किट लागेर कारोबार भएको थियो । त्यसपछि अन्य ६ वटा जलविद्युत कम्पनीहरुको सेयर मूल्यमा सर्किट लाग्यो ।
जलविद्युतको सर्किटलाई पच्छाउँदै यसैसातादेखि कारोबार सुरु भएको युनियन लाइफ पनि मिसियो । कारोबारको अन्तिम समयमा एकाएक नारायणी विकास बैंक पनि सर्किट लेभलमा कारोबार भयो भने यसैसाता कारोबार सुरु भएको जीवन विकास लघुवित्त पनि सर्किट लेभलमा कारोबार भयो ।
समग्रतामा बुधबार अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्य बढ्दा उच्च मूल्य घट्नेको सूचीमा पनि ङादी ग्रुप पावरको ४.८१ प्रतिशतले मूल्य घटेर दोस्रो स्थानमा ङादीलाई पछि पार्दै लक्ष्मी लघुवित्तको सेयर मूल्य ४.९६ अंकले घट्यो । उच्च मूल्य घट्ने १० कम्पनी मध्ये ७ वटा लघुवित्त कम्पनी छन् ।
मंगलबार १०० अंकभन्दा बढीले बढेको लघुवित्त समूह सूचक बुधबार १२६ अंकले घटेको छ । लघुवित्तमा जुन हिसावले मंगलबार मूल्य बढेको करिब–करिब त्यही आधारमा बुधबार मूल्य घटेको छ ।
खासगरी मौद्रिक नीति आउने हल्ला र हकप्रदको लागि केन्द्रीय बैंक लचिलो हुने हल्ला चलेपछि बढेको लघुवित्तको सेयर मूल्य टिक्न सकेन र बुधबार ओरालो लाग्यो ।
मंगलबार हालसम्मकै उच्च रेकर्ड बनाउँदै ३१११.०९ अंकमा रोकिएको नेप्से बुधबार कारोबार सुरु हुने बित्तिकै ३१३९.३ अंकमा पुगेको थियो । तर, त्यो उचाइले स्थिरता पाउन सकेन र बजार सूचक घटबढ हुँदै ३१२१ सम्म झर्यो । र अन्तिम समयमा मंगलबारको तुलनामा १२.०५ अंकले सूचक बढ्दै ३१२३.१५ अंकमा रोकिएको छ ।
यो उचाइ हालसम्मकै उच्च हो । बुधबार सेयर सूचक निरन्तर घटबढ भएसँगै कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । मंगलबार २ करोड ११ लाख २९ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार २ करोड ८८ लाख १३ हजार कित्ता सेयर किनबेच भई १५ अर्ब ५९ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यसदिन सबैभन्दा बढी अपी हाइड्रोपावरको ७९ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार उच्च १० कारोबार भएका कम्पनीहरुमा ८ वटा जलविद्युत क्षेत्रका छन् ।
केही समय कमजोर कम्पनी भन्दै नियामक नेपाल धितोपत्र बोर्डले निकालेको सूचीमा रहेका कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको छ । त्यति बेला बोर्डले सूची निकाल्दा प्रतिकित्ता ३०० रुपैयाँ भन्दाकम मूल्यमा रहेका कम्पनीहरुको सेयर मूल्य यति बेला सबै ४०० देखि ६०० को बीचमा छन् । अझ कतिपय कम्पनीको सेयर मूल्य ६०० भन्दा पनि माथि छ ।
तर,सुरक्षित भनिएको बैंकिङ समूहको सेयर मूल्यमा वृद्धि नभएकोमा लगानीकर्ता चिन्तित छन् । कतिपय लगानीकर्ताले बैंकिङ समूहको सेयर विक्रि गरेर कमजोर भनिएका तर छिटो मूल्य अभिवृद्धि भएका कम्पनीहरुमा लगानी गरेर जोखिम मोल्न खोजिरहेका छन् ।