काठमाडौं । साहस ऊर्जा लिमिटेडले साउन २९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका सोलुखुम्बु जिल्लाका स्थानीयबासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। आईपीओ निष्काशन बन्द छिटोमा भदौ ११ गते हुनेछ भने ढिलोमा भदौ २७ गते हुनेछ।
आईपीओमा ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक, लुक्ला, लक्ष्मी बैंक, मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक, सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्शियल बैंक, रमिते शाखा, सोलुखुम्बुबाट आवेदन दिन सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्या बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। कम्पनीले ८६ मेगावाटको सोलु दुधकोसी आयोजना निर्माण गरिरहेको छ ।