काठमाडौं । जलविद्युत् कम्पनीको संस्थापक सेयरमा लगानी गरेका लगानीकर्ताको ३ वर्षको ‘लकिङ पिरियड’ सकिएपछि धमाधम मूल्य बढाएर बिक्री गर्न थालेपछि धितोपत्र बजारमा नयाँ नयाँ कीर्तिमान देखिन थालेको छ ।
लगानीकर्ताका आत्मविश्वासको मात्रामा वृद्धि भएको छ भने साधारण सेयर बिक्री गर्ने कम्पनीको सङ्ख्यामा पनि वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थामा एथेष्टमात्रामा तरलता भएको र लगानीको अन्य क्षेत्र विस्तार हुन नसकेपछि अधिकांशको ध्यान शेयर बजारमा केन्द्रित भएको छ । सोही कारण शेयर बजारमा कारोबार मापक नेप्सेमा लगातार वृद्धि देखिएको छ । कारोबार रकमसमेत यस साता १५ अर्बभन्दा बढी देखिएको छ ।
साउन लागेपछि लगातार उकालो लागेको नेप्सेले यस साता तीन हजार १०० बिन्दुको यात्रा गरिरहेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ ।
केन्द्रीय बैंकले केही दिन पहिले बैंक तथा लघुवित्त संस्थाको लाभांश वितरणमा कडाइ गरे पनि बजारमा त्यसको खासै प्रभाव परेको जस्तो देखिँदैन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर औसतमा २२६ कम्पनीको कूल १० करोड ४० लाख २४ हजार ९११ कित्ता सेयर कारोबार भयो । कूल ६४ अर्ब ५२ करोड ८७ लाख ३२ हजार ९६६ रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
साताभरमा जीवन विकास लघुवित्त ५२.२८, घलेम्दी हाइड्रोपावर ३९.०३, फस्ट माइक्रोफाइनान्स ३२.४०, कालिका पावर कम्पनी २९.९१, आँखु खोला जलविद्युत् कम्पनी २२.५५ र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले २०.४४ प्रतिशतले कमाए ।
त्यस्तै, चन्द्रागिरी हिल्स ७.९४, प्रभु इन्स्योरेन्स ६.३७, गुडविल फाइनान्स ६.१५, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर ५.२९ र ग्लोबल आइएमई लघुवित्रका लगानीकर्ताले ४.५४ प्रतिशतले गुमाए । रासस