काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक ३२०० अंक छुन खोजे पनि नछोइ फर्किएको छ । केही दिन सुस्त अवस्थामा रहेको नेप्से सूचक मंगलबार एकाएक चमक आएको थियो । मंगलबार खासगरी, वित्त कम्पनी र विकास बैंकहरुमा उछाल देखियो र त्यसको प्रभाव समग्र बजारमा पर्यो । तर, बुधबार त्यही उत्साह कायम गर्न सकेन ।
गतसाता बुधबार ३१२३.१५ मा रहेको सूचक सोमबार ३१०९ मा खुम्चिएको थियो । मंगलबार ३१६१ अंकमा रहेको सूचक हालसम्मकै उच्च हो । बुधबार भने कारोबार खुल्ने वित्तिकै ३१९८.०७ अंकमा पुगेर एकाएक बजार झरेको थियो ।
निरन्तर घट्दोक्रममा देखिएको बजार सूचक नेप्से अन्तिम समयमा भने मंगलबारको तुलनामा ०.९४ अंकले बढेर ३१६२.६ अंक बनाउँदै नयाँ रेकर्ड बनाएको छ ।
गतसाता र त्यसअघिको सातामा जलविद्युत् क्षेत्रले प्रभूत्व जमाएका थिए । बुधबार भने फेरि जलविद्युत् क्षेत्रमै चमक छाएको छ । उच्च मूल्य वृद्धि भएका १० कम्पनीमध्ये ७ वटा जलविद्युत् कम्पनी छन् । रुरु, रिडी हाइड्रो पावर सर्किट लागेको छ । हाइड्रो पावर समूह सचूक पनि १३६ अंकले बढेको छ । अन्तिम समयमा आइसीएफसी फाइनान्समा पनि सर्किट लगाएर कारोबार भएको छ ।
बुधबार ७४ कम्पनीको मूल्य बढ्दा १०५ कम्पनीको मूल्य घटेको छ । ७ वटाको स्थिर छ । बुधबार कुल कारोबार रकम भने मंगलबारको तुलनामा घटेको छ । बुधबार २ करोड ७२ लाख ९८ हजार कित्ता सेयर किनबेच हुँदा १५ अर्ब ५४ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार १७ अर्ब ८४ करोड ६१ लाख रुपैयाँ कारोबार भएको थियो ।
यसदिन माथिल्लो तामाकोसीको ६८ करोड ३० लाख रुपैयाँबारबरको सेयर किनबेच भएको छ । जुन सबैभन्दा बढी हो ।
गतसाताबाट कारोबार सुरु भएका जीवन विकास लघुवित्त र युनियन लाइफमा पनि सर्किट लागेर कारोबार भएको छ । सूचीकृत कम्पनीहरुको वित्तीय विवरण प्रकाशित हुने क्रम सुरु भएको छ । कतिपय कम्पनीले लाभांश समेत घोषणा गरिसकेका छन् । बिमा कम्पनीहरुले अघिल्लो वर्षको लाभांश प्रस्ताव गरिरहेका छन् । यो बेला लगानी गर्दा छिटो प्रतिफल पाउन सकिन्छ । अधिक कम्पनीहरुले दशैं अघि नै लाभांश दिने योजना बनाएका हुन्छन् ।
खासगरी, नगद लाभांशमा जोड दिने कम्पनीहरु दशैं अघि नै साधारणसभा टुंग्याएर लाभांश सेयर धनीको खातामा पठाउन आतुर हुन्छन् । त्यसैले पनि दशै अघि सेयर बजारमा बढी चमक देखिन्छ । विगतका वर्षहरुमा पनि साउन र भदौ सेयर बजारमा लागि उत्साह मुलक समयका रुपमा रहेका पाइन्छ । त्यसपछि भने लाभांश दिइसकेका कम्पनीहरुको सेयर मूल्य समायोजन हुने र लामो समय सेयर पाल्नुपर्ने हुनाले ट्रेडरहरु सक्रिय हुन्छन् ।