काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमै भन्सार छलेर स्मार्टवाच भित्रिने गरेको पाइएको छ । विश्वबजारमा एक सय देखि २ सय डलर पार्ने स्मार्टवाच २ डलर भन्सार मूल्यांकनमा भित्र्याएको क्यापिटल नेपालले प्रमाण फेला परेको छ ।
हाइटेक मोवाइल्स प्रालि र माउन्ट एभरेष्ट टेडर्सले न्यूनबिजीकरण गरेर ठूलो परिमाणमा स्मार्टवाच भित्र्याएको पाइएको हो । क्यापिटलले प्राप्त गरेको प्रमाण अनुसार हाइटेक मोवाइल्सले २ डलरदेखि ४ डलर मूल्य देखाएर त्रिभूवन अन्तर्राष्टिय विमानस्थल भन्सार कार्यालयबाट सामान छुटाएको देखिएको छ ।
हाइटेकले ८३० थान स्मार्टवाच नेपाल भित्र्याउँदा जम्मा ९३ हजार ३३८ रुपैयाँ मात्रै राजस्व बुझाएको देखिन्छ । जबकी, अर्को एक कम्पनीले ८०० थान स्मार्टवाच भित्र्याउँदा १२ लाख ८० हजार रुपैयाँ राजस्व बुझाएको छ ।
हाइटेकले ल्याएको स्मार्टवाच र अर्को कम्पनीले भित्र्याएको स्मार्टवाच एउटै ब्रान्डको एउटै मोडल हो । तर, हाइटेकले अर्को कम्पनीको भन्दा ३० थान बढी स्मार्टवाच भित्र्याएको छ ।
हाइटेकका सञ्चालकले भन्सारका अधिकारीसँग सेटिङ गरेर न्यून मूल्यांकनमा वाच भित्र्याएको देखिन्छ । अन्य कम्पनीले आयात गर्दा वाचको मोडल र ब्रान्ड उल्लेख गर्नुपर्छ । सोही अनुसार भन्सार र मूल्य अभिवृद्धि कर निर्धारण हुन्छ । तर, हाइटेकले ल्याएको वाचमा कुनै मोडल र ब्रान्ड राखिएको छैन । तर, बिक्री गर्दा भने हाइटेकले मोडल र ब्रान्ड उल्लेख गरेको छ । ४ डलर मूल्यांकन देखाएर नेपाल भित्र्याइएको स्मार्टवाचको मूल्य १७ हजार रुपैयाँ भन्दा माथि छ ।
हाइटेक तथा माउन्ट एभरेष्टका सञ्चालकले एयरपोर्ट भन्सारका कर्मचारीसँग साँठगाँठ गरेर ९० प्रतिशतसम्म भन्सार छलेर सामान भित्र्याइरहेका छन् । स्रोतका अनुसार एयरपोर्टमा भएका जाँचकीले जेन्युन तरिकाले ल्याएको सामानको ब्रान्ड तथा मोडल समेत भए नभएको हेर्ने गरेको छन् । तर, दुई जना व्यापारीले ल्याएको सामानको मोडल तथा ब्रान्ड समेत नहेरी धमाधम कम मूल्यांकन गरेर छिराइरहेका छन् ।
समान परिणमा ल्याउँदा हाइटेकले ९३ हजार मात्रै राजस्व तिर्छ । माउन्ट एभरेष्ट ट्रेडर्सले २ हजार ३३० थान स्मार्टवाच ल्याउँदा ९ लाख मात्रै राजस्व बुझाएको भन्सारकै तथ्यांमबाट देखिन्छ । कम्पनीले २२ डलरसम्ममा स्मार्टवाच भित्र्याएको देखिन्छ ।
खासगरी ब्रान्डेड स्मार्टवाच न्यून बिजीकरण भएर ठूलो परिमाणमा नेपाल भित्रिँदा एकातिर जेन्युन रुपमा आयात गरेर व्यापार गर्नेहरु मर्कामा परेका छन् भने अर्कोतिर करोडौं रुपैयाँ राजस्व छली भएको छ ।
स्मार्टवाच आयात गर्दा २० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ । वास्तविक भन्दा कम मूल्य देखाएर सामान छिराउँदा सरकारले पाउने भन्सार तथा भ्याट पनि कम हुने गर्छ ।
भन्सारका जाँचकीसँग मिलेर व्यापारीले यस्तो गरेको देखिएको हो । नेपालमा जबदेखि स्मार्टवाचको माग बढ्दै गयो, त्यो बेलादेखि गैरकानुनी रुपमा स्मार्टवाच भित्र्याउने कार्य भएको हो ।
भन्सारका अनुसार दुई महिनाको अवधिमा मात्रै झण्डै ४ हजार थान स्मार्टवाच आएको देखिन्छ । त्यसमध्ये ८ सय थान वास्तविक मूल्य उल्लेख गरेर भित्रिएका छन्, बाँकी ३२ सय थान हाराहारी स्मार्टवाच २ देखि ३ डलर भन्सार मूल्यांकनमा भित्रिएको देखिएको हो ।