काठमाडौं। भाटभटेनी सुपरस्टोर्सले जेनजी आन्दोलनमा भोगेको ठूलो क्षतिपछि पुनः उठ्ने दृढ संकल्प व्यक्त गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको सन्देशमा ग्राहक रुपी परिवारले सहयोग र समर्थनका कारण आफ्नो मनोबल अझै मजबुत भएको उल्लेख गरेको छ।
‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो स्टोर्स ध्वस्त भए पनि तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं,’ सन्देशमा भनिएको छ।
भाटभटेनीका अनुसार हजारौँ सहयोगी हातहरूले अहिले सफा गर्ने, आँसु पुछ्ने र पुनः उभिन शक्ति दिने कार्यमा साथ दिएका छन्। भाटभटेनीले आफ्नो सन्देशमा थप उल्लेख गरेको छ, ‘भाटभटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौँ।’
कठिन समयमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै भाटभटेनीले परिवारकाे समर्थन नै सबैभन्दा ठूलो शक्ति भएको जनाएको छ। भाटभटेनी सुपरस्टोर्सका देशभरका विभिन्न शाखामा आगजनी, तोडफोड र लुटपाट हुँदा ठूलो क्षति भएको छ।
भाटभटेनीको १२ वटा स्टोर पूर्ण रुपमा ध्वस्त भएको छ। भवनसहित ध्वस्त भएका शाखामा काठमाडौंका टंगाल, महाराजगञ्ज, बौद्ध, कोटेश्वर र बालुवाटारको गोदामसहित पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरान रहेका छन्।
यस्तै, कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी र इटहरी शाखामा तोडफोड र सामान लुटपाट भएको भाटभटेनी स्रोतले जनाएको छ। टोखा, सातदोबटो, अनामनगर, सनागाउँ, त्रिपुरेश्वर–यूडब्ल्यूटीसी, पाटन र नेपालगञ्ज शाखा भने सुरक्षित रहेको जनाएको छ। घटनापछि के कति क्षति भयो भन्ने बारेमा अहिले विवरण संकलन भैरहेको उल्लेख गरेको छ।