काठमाडौं । साताको दोस्राे दिन सोमबार सेयरबजारमा आएको तीव्र उतारचढावको बाबजुत बजार सूचक(नेपाल स्टक एक्सचेन्ज) नेप्से उकालो लागेको छ । शुक्रबार जारी मौद्रिक नीति पछिको दोस्राे कारोबारको दिन निकै अप्ठ्यारो गरी बजार बढेको हो ।
आइतबार बजार सूचक २४ अंकले घटेको थियो । आइतबार सेयर कारोबार रकममा हालसम्मकै उच्च २१ अर्ब रहे पनि सोमबार भने कारोबार रकममा गिरावट आउँदै १५ अर्ब ९३ करोडमा खुम्चिएको छ ।
सोमबार जलविद्युत,विकास बैंक,उत्पादनमूलक तथा प्रशोधन,लघुवित्त, व्यापार र लगानी समूह चम्किएपछि अन्तिम समयमा बजार सूचक ५.७२ अंकले बढेर ३१६० अंकमा पुगेको छ ।
आइतबार ३१५४ अंकमा रहेको नेप्से सूचक नियमित कारोबारभन्दा अगाडि(प्रि ओपन सेसन)मै १० अंकले बढेको थियो । तर, त्यसपछि भने बजार सामान्य बढेर ह्वात्तै घट्यो र ३१३८ सम्म पुग्यो ।
त्यसपछि बजार बढ्ने र घट्ने क्रमले निरन्तरता पाउँदै अन्तिम कारोबारमा नेप्से सूचक बढ्न पुगेको हो । यस दिन ५ वटा कम्पनी (कर्पोरेट डेभलपमेन्ट बैंक,खानीखोला हाइड्रोपावर, नेसनल हाइड्रोपावार,जीवन विकास लघुवित्त र रिडी हाइड्रोपावर) मा सर्किट लागेर कारोबार भएको छ भने दुईवटा कम्पनी(रुरु र हिमालय उर्जा विकास) को ९ प्रतिशत भन्दा बढीले मूल्य बढेको छ ।
उता, सबैभन्दा बढी सेयर मूल्य घट्ने सूचीमा रहेको आइसीएफसी फाइनान्सको ६.२७ प्रतिशतले घटेको छ । यसदिन ९१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
यस दिन पनि जलविद्युत समूहकै उच्च कारोबार भएको छ । यो समूहको ६ अर्ब ८ करोड सेयर कारोबार हुँदा वाणिज्य बैंकहरुको ४ अर्ब ३१ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको छ ।
सोमबारको कारोबारले मौद्रिक नीतिबाट आएको सेयर बजारसम्बन्धी अनेकन अफवाहरुलाई चिरेको छ । आइतबारै पनि सुरुमा ८८ अंकसम्म तल झरेको बजार अन्तिम समयमा सम्हालिएको थियो ।
सोमबार पनि उच्च अंकबाट ३१ अंकले तल झरे पनि अन्तिम समयमा सोमबारको उच्च अंकभन्दा तल तर,आइतबारको विन्दुभन्दा माथि सूचक रहेको छ ।
कारोबार प्रवृति र कारोबार चापलाई हेर्दा मंगलबार बजार केही बढ्ने संकेत गरेको छ । मौद्रिक नीतिबाट व्यवस्था भएको ठूला लगानीकर्तालाई कर्जामा सीमा र दीर्घकालमा केही ब्याजदर बढ्ने मौद्रिक नीतिको संकेतले बजारले चिरेको छ । आगामी दिनमा बजारले थप उचाइ लिन सक्ने संकेत गर्छ ।