काठमाडौं । लगानी बोर्डमार्फत निर्माण हुने विभिन्न आयोजनाहरु निर्माणका लागि १ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ । यस्तै ४ खर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत हुने प्रक्रियामा रहेको बोर्डले जनाएको छ ।
यसमध्ये गत वर्ष १ खर्ब ५० अर्ब रुपैयाँ लगानी अनुमान रहेको ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना विकासको लागि छनौट गरिएको विकासकर्तासँग समझदारी गरि सर्वेक्षण अनुमतिपत्र समेत जारी भएको बोर्डले जनाएको छ ।
बोर्डबाट सहजीकरण भइरहेका अरुण तेस्रो जलविद्युत, ह्वासिन सिमेन्ट लगायतका परियोजनाको निर्माण प्रगति उल्लेख्य रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले बताए ।
दमक औद्योगिक पार्क लगायत दाङ्ग सिमेन्ट, सम्राट सिमेन्ट परियोजनाहरू सम्झौताका चरणमा रहेको उनले जानकारी गराए । कोभिड महामारीको प्रभाव, दक्ष जनशक्तिको अपर्याप्तता लगायतका केही चुनौतीका बाबजुद कार्यसम्पादन करारमा उल्लेखित सम्पूर्ण कार्यहरु सम्पन्न भएका जानकारी दिए ।
सीईओ भट्टले आफ्नो कार्य सम्पादन करार सम्झौता बमोजिमको आर्थिक वर्ष ०७७०७८ को प्रतिवेदन लगानी बोर्डका अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
प्रतिवेदनमा लगानी बोर्डमा सीईओका रुपमा प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनौट हुँदा पेश गरिएको व्यवसायिक प्रस्ताव तथा गत वर्ष हस्ताक्षरित कार्यसम्पादन करार सम्झौता बमोजिम बोर्डले गत एक वर्षको अवधिमा ठूला पूर्वाधार परियोजनाको लगानी स्वीकृत, परियोजना स्वीकृत, परियोजना कार्यान्वयन तथा निर्माणमा सहजिकरण, लगानी प्रवर्धन तथा संस्थागत विकास लगायतका क्षेत्रमा हासिल गरेका महत्वपूर्ण प्रगतिको बारेमा उल्लेख गरिएको छ ।