काठमाडौं। दक्षिण कोरियाको डेइजोनमा रहेको एक अटो पाट्र्स उत्पादन गर्ने कारखानामा शुक्रबार भएको भीषण आगलागीमा कम्तीमा १० जनाको ज्यान गएको छ। घटनामा ५९ जना घाइते भएका छन्। साथै चार जना अझै बेपत्ता रहेको अधिकारीले बताएका छन्।
स्थानीय समयअनुसार दिउँसो करिब १ः१७ बजे आगलागी हुँदा कारखानाभित्र झण्डै १७० जना कामदार कार्यरत थिए। अचानक लागेको आगो तीव्र गतिमा फैलिँदा धेरै कामदार भवनभित्रै फसेका थिए।
अग्नी नियन्त्रण अधिकारीका अनुसार पहिलो पीडित दोस्रो तलामा हृदयघातको अवस्थामा फेला परेका थिए। यसलाई अस्पताल लैजाँदै गर्दा मृत घोषणा गरिएको थियो। त्यसपछि अन्य नौ जनाको शव तेस्रो तलामा भेटिएको पुष्टि गरिएको छ। यसले आगोको प्रभाव माथिल्लो तलासम्म पुगेको संकेत गर्दछ।
आगो नियन्त्रणमा लिन दमकल टोलीले लामो समय संघर्ष गर्नु परेको थियो। प्रारम्भिक चरणमा धुँवा र उच्च तापक्रमका कारण उद्धार कार्यमा कठिनाइ भएको थियो। पछि संरचना सुरक्षित रहेको प्राविधिक टोलीले पुष्टी गरेपछि मात्र राति ढिलो गरी उद्धारकर्मी भवनभित्र प्रवेश गर्न सकेका थिए।
हाल उद्धार टोलीले बेपत्ता चार जनाको खोजी कार्य तीव्र पारेको छ। घाइतेलाई नजिकका अस्पतालमा उपचारका लागि पठाइएको छ। जहाँ केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
अधिकारीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक अनुमानअनुसार औद्योगिक उपकरण वा ज्वलनशील पदार्थबाट आगो सुरु भएको हुन सक्ने आशंका गरिएको छ। तर, यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
यस घटनापछि स्थानीय प्रशासनले औद्योगिक सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ। यस्ता घटनाबाट बच्न कारखानामा सुरक्षा निरीक्षण बढाइने जनाएको छ।