काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा भित्रिने रेमिट्यान्सलाई ऊर्जा लगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीतिको आवश्यकता रहेको बताएका छन् । चेम्वरका पदाधिकारीहरु तथा सदस्यद्धारा उर्जा, जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटवार्तामा त्यस्तो बताएका हुन् ।
अध्यक्ष मल्लले अर्थतन्त्रलाई पुनस्र्थापित गर्न विभिन्न सुझावहरु प्रस्तुत गरेका थिए । जलस्राेत को अपार भण्डार भएको मुलुक भएकोले नेपालको पानी जनताको लगानी अवधारणाका आधारमा यसको उपयोग गर्न सकिएमा अर्थतन्त्रलाई समृद्ध बनाउन र गरिवी निवारणमा टेवा पुग्ने उनले बताए ।
भारत, बंगलादेश लगायत दक्षिण एसियाली क्षेत्रमा द्रुतगतिले आर्थिक उन्नतिको मार्गमा अग्रसर भइरहेकाले ती मुलुकहरुमा विद्युत बजार बिस्तार गर्न निरन्तर रुपले कूटनीतिक पहल गरिनुपर्ने बताउँदै उर्जामार्फत पेट्रोलियम पदार्थको आयात बिस्थापन गर्न स्थानीय स्तरमा विद्युत उपभोग बढाउने रणनीति ल्याउन पनि आग्रह गरे ।
उनले ऊर्जामा लगानी बढाउन हेजिङसम्बन्धी व्यवस्था, जग्गा प्राप्तिको लागि सरलीकरण, आयकर छुट,प्रसारण लाइन र सबस्टेसन निर्माणसम्बन्धी रणनीतिक योजनाबारे पनि सुझावहरु प्रस्तुत गरे ।
सो अवसरमा उर्जा,जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकको समृद्धिको आधारशीला कृषि,उर्जा तथा पर्यटन क्षेत्र रहेको बताउँदै कृषि क्षेत्रको विकासका लागि विद्युतीय प्रयोगमा वृद्धि ल्याउन प्रोत्साहनमूलक कार्यक्रम ल्याइने बताएकी छिन् ।
यसका लागि सिँचाइका लागि सहुलियत दरमा विद्युत प्रदान गरिने र बिपन्न वर्गको लागि २० युनिट विद्युत निःशुल्क प्रदान हुने उनले बताइन् । पेट्रोलियम पदार्थमाथिको निर्भरतालाई न्यून गर्न विभिन्न रणनीति लिइएको र आन्तरिक खपत वृद्धि गर्नतर्फ सरकारको ध्यान केन्द्रित रहेको उनले बताइन् ।