काठमाडौं । सेयर बजारले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा नयाँ रेकर्ड कायम भएको हो । सेयर बजार ३८ अंकले बढेर नेप्से परिसूचक ३१९८.६० अंकमा पुगेको छ ।
यो हालसम्मकै उच्च हो । नेप्से सूचकले उचाइ राख्दा २१ अर्ब ३१ करोड ५४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आजको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
मौद्रिक नीतिपछि पनि सम्हालिँदै उछालिएको नेप्से ३२२० अंक पुगेर पछि फर्किएको छ । यसले क्रमशः बजारको गति माथितिरै रहेको विश्लेषण गर्न सकिन्छ । मौद्रिक नीतिपछि केही अल्मलमा रहेको बजारले फेरि गति लिएको देखिन्छ ।
कारोबार खुलेपछि ओरालो लागेर ३१५४ अंकमा झरेको सेयर बजार त्यसपछि बढेर ३२२० अंकमा पुगेको थियो । त्यसपछि बजार पुनः ओरालो लाग्यो र बन्दा हुँदा ३२०० अंक नजिक आएर रोकियो । यसले क्रमशः बजारको गति माथितिरै रहेको विश्लेषण गर्न सकिन्छ । मौद्रिक नीतिपछि केही अल्मलमा रहेको बजारले फेरि गति लिएको देखिन्छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुले वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन् । गत वर्ष असज अवस्थामा पनि नेप्सेमा सूचीकृत कम्पनीहरुले नाफा बढाउन सफल भएका छन् । नाफाले सेयर बजारलाई बढाउन इन्धनको काम गरेको छ ।
कम्पनीहरुले गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश घोषणा र साधारणसभाको समय आउन थालेको छ । यसबीचमा केही कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् ।
२२८ कम्पनीको ३ करोड ६५ लाखभन्दा बढी कित्ता सेयर काराेबार भएको छ । बुधबार व्यापार र म्युचअल फण्ड बाहेक सबै परिसूचक बढेका छन् । बुधबार विकास बैंक, उत्पादनमूलक, जीवन बिमा र वित्त समूहमा उछाल आएको छ । यस्तै जलविद्युत, अन्य, लघुवित्त र होटल एन्ड टुरिज्म क्षेत्रमा सामान्य वृद्धि भएको छ ।
बुधबार नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । नेसनलको प्रतिकित्ता ४९८ मा ७८ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यस्तै अपी पावर कम्पनीको ६३० मा ६३ करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार ४ वटा कम्पनीको सेयर मूल्य बढेर सर्किट लागेको छ ।
शिवम सिमेन्ट, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त र अरुण कावेली पावर लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ । यसबीचमा ५ वटा कम्पनीको सेयर मूल्य बढेर ९ प्रतिशतभन्दा माथि पुगेका छन् ।