काठमाडौं । अब राष्ट्रिय बिमा संस्थानको प्रिमियम कनेक्ट आईपीएसबाट डिजिटल रूपमा भुक्तानीबाट गर्न सकिने भएको छ ।
डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आईपीएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरेपछि संस्थानका बिमितहरुलाई यो सुविधा मिलेको हो । प्रिमियम डिजिटल भुक्तानीमार्फत तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने बाध्यता पनि हटेको छ ।
संस्थानका प्रशासक कविप्रसाद पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईयो) निलेशमानसिंह प्रधानले बुधबार आयोजित एक कार्यक्रमकाबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ गरेका हुन् । डिजिटल भुक्तानी सेवा शुभारम्भ गर्दै प्रशासक पाठकले आफ्नो ७५ हजार ५ सय ९५ रुपैयाँ बराबरको बिमाशुल्क कनेक्ट आईपीएसमार्फत भुक्तानी गरेका थिए ।
संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको छ । क्लियरिङ हाउसका सीईओ प्रधानले पोलिसी नम्बर र बिमितको जन्ममिति राखेर कनेक्ट आईपीएसमार्फत बिमाशुल्क बुझाउन सकिने बताए ।
व्यक्तिको जन्ममिति र पोलिसि नम्बर राख्दा त्यसले बिमितलाई सुरक्षासमेत प्रदान गर्ने उनको भनाइ छ ।बिमा संस्थानले प्रणाली सुदृढीकरण तथा अटोमेसन गर्न आफ्नो आन्तरिक प्रणाली स्तरोन्ति गरी एनसीएचएलको नेसनल पेमेन्टस् इन्टरफेस(एनपीआई) मार्फत सम्पूर्ण भुक्तानी कारोबारहरु विद्युतीय माध्यममार्फत गर्न गत सालको चैत महिनाको सम्झौतापछि कार्य अघि बढाएको हो ।
पहिलो चरणमा जीवन बिमाको प्रिमियम भुक्तानी अनलाइनमार्फत गरेको छ भने संस्थानले पछिल्लो चरणमा इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानीलगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाएको छ ।