विराटनगर । विराटनगरको रानी मिल्स एरियामा स्थापित रघुपति जुट मिल्स लिमिटेडले २०७८ सालभर आफ्नो विभिन्न कार्यक्रम गरी ‘हीरक जयन्ती २०७८’ मनाउने भएको छ ।
वि.सं. २००३ साल भदौ ७ गते विराटनगरको रानी मिल्स एरियामा स्थापित रघुपति जुट मिल्स लिमिटेडले नेपाल कै ऐतिहासिक जुट उद्योग रहेको जनाइएको छ ।
७५ वर्ष अघिदेखि सञ्चालनमा आएको उद्योग नेपाल सरकारको निजीकरण कार्यक्रमअन्तर्गत २०५३ साल भदौबाट गोल्छा अर्गनाइजेसनबाट सञ्चालित छ । हाल उद्योगमा करिब ३ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रूपमा लाखौंको जीवनयापन र आर्थिक सामाजिक समृद्धिमा योगदान दिएको उद्योगले जनाएको छ ।

उद्योग सञ्चालन भएदेखि आजसम्र्म निरन्तर सञ्चालनमा रहने नेपालको यो एकमात्र उद्योग रहेको छ । निरन्तर सञ्चालनमा आएको उद्योगले सोमबारदेखि आगामी एक वर्षसम्म उद्योगको ‘हीरक महोत्सव’ विविध कार्यक्रम सहित मनाइने जनाइएको छ ।
सोमबारदेखि सुरु भएको महोत्सवको शुभारम्भ वृक्षरोपणबाट गरिएको उद्योगले जनाएको छ । उद्योग परिसरमा गरिएको वृक्षरोपणमा उद्योग संगठन मोरङ, व्यापार संघ मोरङ, स्थानीय पदाधिकारी एवं कामदार, कर्मचारी, ट्रेड युनियनहरुको सहभागिता थियोे ।
७५ वर्ष पुगेको उपलक्ष्यमा विविध किसिमका ७५ बिरुवा रोपिएको छ । यो कार्यक्रममा यस उद्योगका सञ्चालक राजकुमार गोल्छाले सबैलाई हार्दिक स्वागत गर्दै उद्योगको विगत, वर्तमान र भविष्यको संक्षिप्त रूपरेखा अवगत गराएका थिए । उद्योगले विविध कार्यक्रमसहित १ वर्षसम्म ‘हीरक महोत्सव’ मनाउने जनाएको छ ।