काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजार घट्नबाट थामिएन । बिहीबार बजार ५०.१३ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९२६.८९ अंकमा झरेको छ ।
बुधबार बजार झिनो अंकले बढेको थियो । बजार घटेपछि यसको असर कारोबार रकममा पनि परेको छ । बिहीबार ९ अर्ब ५० करोड ५९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबार भएका बैंक, वित्त, विकास बैंक, म्युचअल फण्ड, जलविद्युत, उत्पादन तथा प्रशोधन, वित्त, जीवन तथा निर्जीवन बिमा, पर्यटन तथा होटल, व्यापार र अन्य सबै समूहका सूचक घटेका छन ।
जलविद्युत, विकास बैंक, वित्त र लगानी समूहमा बढी गिरावट आएको नेप्सेले जनाएको छ । एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र वित्तीय प्रणालीबाट एकाघर परिवारले १२ करोड रुपैयाँको सेयर धितो कर्जा पाउने सीमाले बजार घटाउन सहयोग गरेको बताइएको छ । बजार निरन्तर ओरालो लागेपछि यसबीचमा लगानीकर्ताले अर्बौं रुपैयाँ गुमाएका छन् ।
बजार घटे पनि सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सानिमाको सेयर १० रुपैयाँ बढेर ३३९ रुपैयाँ पुगेको छ । यसैगरी मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य पनि ९.९ प्रतिशतले बढेर सर्किट लेभल नजिक पुगेको छ ।
नारायणी विकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण कावेल पावर कम्पनीको सेयर मूल्य ६ प्रतिशतले गिरावट आएको छ । बजार घटे पनि अरुण भ्याली हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । अरुण भ्यालीको प्रतिकित्ता ६९४ मा ५७ करोड ४० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
.