काठमाडौं । असोजदेखि बैंकहरूले ब्याजदर बढाउने पक्कापक्की देखिएपछि त्यसकाे सीधा असर सेयर बजारमा परेको छ । केन्द्रीय बैंकले सेयर धिताे कर्जाकाे सीमा ४ र १२ करोड रुपैयाँमा खुम्च्याएपछि घटेको बजार बीचमा केही दिन सम्हालिन खोजेको थियो । तर, असोज १ गते बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्ने तयारी गरेपछि पुनः बजारमा सुस्तता छाएको हो ।
केन्द्रीय बैंकले सेयर धिताे कर्जाकाे सीमा घटाउने सुइको पाएपछि बजारबाट बाहिरिएका ठूला लगानीकर्ता अझैसम्म सेयर बजारमा प्रवेश गरेका छैनन् ।
साना लगानीकर्ताले बजारलाई चलायमान बनाउन खोजे पनि त्यो सम्भव भएको छैन । साना लगानीकर्ताको बजारमा व्यापक सक्रियता छ । तर, उनीहरुले घट्दो बजारलाई थेग्न सकेका छैनन् । ठूला लगानीकर्ता बजारमा प्रवेश नगर्दासम्म बजारमा रौनक नआउने सम्भावना छ ।
ठूला लगानीकर्ता केन्द्रीय बैंकको नीतिबाट हच्किएका छन् । त्यही भएर पनि उनीहरु अहिल्यै बजारमा प्रवेश गर्ने मनस्थितिमा छैनन् । सेयर बजारमाथि केन्द्रीय बैंकको निशाना सेलाउन नपाउँदै बैंकले ब्याजदर बढाउने सुरसार गरिसकेका छन् । त्यसले पनि बजारलाई केही प्रभावित पार्ने लगानीकर्ताको आँकलन छ । एक पटक प्रभावित भएर बजार स्थिर भएपछि मात्रै ठूला लगानीकर्ता बजारमा छिर्ने सम्भावना छ ।
बैंकले एकातिर सेयर मार्जिन कर्जामा कडाइ र ब्याजदर बढाउने संकेत देखिएपछि बजार मंगलबार १८.५४ अंकले घटेर २९२९.२९ बिन्दुमा रोकिएको छ । सोमबार शून्य दशमलव २७ अंकले बढेर बजार बन्द भएको थियो ।
तर, सोमबारको तुलनामा मंगलबार कारोबार रकममा ठूलो गिरावट आएको छ । मंगलबार ५ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जबकी सोमबार ९ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
बजारमा ब्याजदर ९ प्रतिशत हाराहारी पुग्ने आँकलन गर्न थालिएको छ । यदि ९ प्रतिशतभन्दा माथि ब्याजदर गए सेयर बजारमा त्यसको ठूलो असर पर्ने लगानीकर्ताहरु बताउँछन् ।
अहिले सूचीकृत कम्पनीले लाभांश बाँड्ने सिजन हो । सूचीकृत कम्पनीहरुले गत वर्षको मुनाफाबाट धमाधम लाभांश घोषणा गर्न थालेका छन् । कोरोना कहरका बीचमा पनि सूचीकृत कम्पनीहरुले औसतमा नाफा वृद्धि गरेका छन् ।
यसर्थ, यतिबेला आम लगानीकर्तामा धैर्यता आवश्यक हुन्छ । घटेको बजार बढ्छ भन्नेमा विश्वस्त हुन जरुरी छ । लाभांशको मुखमा बजार घट्दा पेनिक हुन नहुने अनुभवी लगानीकर्ता विश्लेषकहरु बताउँछन् । मुखैमा आइसकेको लाभांश फुत्किन सक्नेतर्फ सर्वसाधारण लगानीकर्ता सचेत हुन आवश्यक छ ।
लगानी गर्दा कम्पनीहरुको प्रमुख वित्तीय विवरण, लाभांश क्षमता, कम्पनीको भावी योजना लगायतमा ध्यान दिनुपर्छ । यसैगरी, लगानी गरिने अवधि, होल्ड गर्न सक्ने समयका बारेमा पनि ख्याल गर्न जरुरी हुन्छ । कम्पनीको मूल्य, पीई रेसियो, प्रतिसेयर आम्दानी, नाफा, रिजर्भ र बजारको सम्रग ट्रेन्डलाई ख्याल गरी खरिदबिक्रीको निर्णय लिन सक्नुपर्छ ।