काठमाडौं । निरन्तर सेयर बजार घट्न थाले पछि केही लगानीकर्ताले अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर आफ्नो गुनासो राख्न समय मागेको कयौं दिन भइसक्यो । तर, दुवै जनाले लगानीकर्ताको गुनासो सुन्न चाहेका छैनन् । त्यही भएर समय पनि दिएनन् ।
लगानीकर्ताले सेयर बजार राज्यको मुख्य आम्दानीको स्रोत बुझाउन र बजारमा धेरै ठूलो जमातको सहभागिता रहेको भन्न समय मागेका थिए । तर, अर्थमन्त्री शर्माले उनीहरुको कुनै गुनासो नसुन्ने भन्दै समय नै दिएनन् ।
खासगरी पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागे पछि केही लगानीकर्ता सक्रिय भएर अर्थमन्त्री शर्मासँग भेट्न खोजेका थिए । अर्थमन्त्रीले भेट्न इच्छा नदेखाएपछि उनको सचिवालय समेत उनीहरुलाई केही गर्न सकेन् ।
केन्द्रीय बैंकले अख्तियार गरेको नीतिका कारण बजार निरन्तर प्रभावित बन्दै आएको छ । धेरै लगानीकर्ता फेरि आत्महत्या गर्न सक्ने सम्भावना उत्तिकै छ । केन्द्रीय बैंकले ल्याएको नीतिमाथि केही पुनर्विचार गर्न अनुरोध गर्नका लागि लगानीकर्ताले समय मागेका थिए । तर, अर्थमन्त्रीले लगानीकर्ताले यही गुनासो राख्ने थाहा पाए पछि उनीहरुलाई भेट नै दिएनन् ।
यहीबाट प्रस्ट हुन्छ, अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी बजारप्रति सकारात्मक छैनन् । अर्थमन्त्रीकै सहमतिमा केन्द्रीय बैंकले बजारअमैत्री कानुनहरु अख्तियार गरेको हो । गभर्नर अधिकारीले अर्थमन्त्रीकै सल्लाहमा यस्ता नीति ल्याएको लगानीकर्ताहरुले बताइरहेका छन् ।
पछिल्लो समय सेयर बजार प्रति अर्थमन्त्री शर्माले गरेको टिप्पणी र गभर्नर अधिकारीले लिएको नीति मिल्दोजुल्दो छ । त्यसबाट पनि सेयर बजारबाट साना लगानीकर्ताले कमाएको दुवैलाई मन नपरेको लगानीकर्ताको बुझाइ छ ।
सेयर बजारबाट सरकारले गत आर्थिक वर्षमा १७ अर्ब हाराहारी राजस्व संकलन गरेको छ । यो भनेको झण्डै कुल राजस्वको १.५ प्रतिशत भन्दा बढी हो । तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजारलाई गतिशिल बनाउने र त्यहाँबाट राज्यले राजस्व उठाउने नीति लिएका थिए । उनी बजारमैत्री अर्थमन्त्रीको रुपमा चित्रित छन् । अहिले लगानीकर्ताले उनले बजारलाई लगाएको गुन सम्झिरहेका छन् ।